Skip to content

निर्वाचनका लागि मधेसमा सुरक्षा व्यवस्था कडा

कालोपाटी

२१ घण्टा अगाडि

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन मधेस प्रदेशभरि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार अति संवेदनशील मतदानस्थलमा ड्रोन र सीसीटीभी क्यामेराद्वारा निगरानीको व्यवस्था गरिएको छ।

प्रदेशका आठ जिल्लामा कुल २,१६० मतदानस्थल र ४,४७१ मतदान केन्द्र रहेका छन्। तीमध्ये ५७ प्रतिशत मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। सप्तरी जिल्लामा २९६ मतदानस्थलमध्ये २०९ स्थल अति संवेदनशील रहेको छ। सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका मतदानस्थलहरू पनि संवेदनशील सूचीमा छन्।

प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार मतदाताको चाप, भौगोलिक अवस्था, सामाजिक–सांस्कृतिक परिवेश र विगतका घटनाक्रमको आधारमा मतदानस्थल वर्गीकरण गरिएको हो। करिब ४६४ किलोमिटर लामो खुला सीमाले अवैध प्रवेश, दोहोरो मतदाता र अन्य जोखिम बढाएको छ।

सुरक्षा व्यवस्था अन्तर्गत मधेसमा १२,६०० नेपाल प्रहरी, २८,२९५ निर्वाचन प्रहरी, ४,३३६ सशस्त्र प्रहरी र २,८३२ म्यादी प्रहरी परिचालन गरिने छ। नेपाली सेनाको पनि सहभागितासहित सुरक्षा घेरा थप सुदृढ बनाइएको छ।

धनुषा र महोत्तरी जिल्लामा भारतको बिहार राज्यसँग जोडिएको ३९ किलोमिटर सीमा भएकाले अतिरिक्त सुरक्षा बैठक र समन्वय गरिसकिएको छ। यसरी प्रदेशभरि ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने तयारी रहेको डीआईजी थपलियाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार