काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ। उक्त मुद्दा न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो।
युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन माग गर्दै दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो। महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको विषय कानूनविपरीत रहेको दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि सर्वोच्च अदालतले यो मुद्दामा तीन पटक फाइल मगाउने आदेश दिएको थियो। २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गर्दै २०८० जेठ ९ गते फाइल मगाइएको थियो। अदालतले महान्यायाधिवक्ता कार्यालयसँग लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको थियो।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए। सो निर्णयविरुद्ध पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले अन्तरिम आदेशमार्फत लामिछानेविरुद्ध मुद्दा चलाउन माग गरे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
रिटमा अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भनी राहदानी आवेदन फारम भरी नेपाली राहदानी लिएको कार्य राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीत रहेको र यसलाई कसुर मान्नुपर्ने जिकिर गरिएको छ। महान्यायाधिवक्ताले अधिकार क्षेत्रभन्दा बाहिर गई मुद्दा नचल्ने निर्णय गरेको आरोप पनि रिटमा उल्लेख छ।
पौडेलले लामिछानेले उक्त राहदानी कुन–कुन समयमा र के–कुन प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्न माग गरेका छन्। साथै, दोहोरो सुनुवाइ नभएसम्म लामिछानेलाई नेपाली नागरिकका रूपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन निर्वाचन आयोगलगायत विपक्षी निकायका नाममा अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्