Skip to content

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

कालोपाटी

२० घण्टा अगाडि

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका र शहीद घोषणा गरिएका ४२ जनाका परिवारलाई झण्डै १२ करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ। ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान वितरणको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ।

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम उपलब्ध गराउने निर्णय गरेको थियो। सो निर्णयअनुसार सोमबार शहीद परिवारलाई वितरण गरिने रकमसहितको कार्यक्रम खाका अर्थ मन्त्रालयमा पेस गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार सुरुमा प्रचलित कानुन अनुसार उपलब्ध गराउने निर्णय गरिएको भए पनि, जीवन निर्वाह भत्ता कर्मचारीले पाउने जस्तै सुविधा पाउनुपर्ने माग पछि मन्त्रिपरिषद् बैठकले अनुदान रकम दिने निर्णय गरेको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये ४२ जनालाई सरकारले शहीद घोषणा गरेको थियो।

सरकारले शहीद घोषणा गरिएका ४२ जनाका परिवारलाई १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँ दरले सुविधा उपलब्ध गराउने तयारी गरेको छ। यसमा वार्षिक चाडबाड भत्तासहित १३ महिनाको सुविधा समावेश हुनेछ। मन्त्रालयका अनुसार ४२ परिवारलाई यो सुविधा उपलब्ध गराउँदा कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार