Skip to content

काठमाडौं महानगरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

कालोपाटी

१७ घण्टा अगाडि

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकासँग स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि महानगरपालिकाले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई घर–घरमा गई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको विषयमा आयोगले चासो देखाउँदै पत्राचार गरेको हो।

आयोगका अनुसार यस सम्बन्धमा कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्य–दृश्य सामग्री आयोगमा प्राप्त भएपछि महानगरपालिकालाई औपचारिक रूपमा पत्र लेखिएको हो। निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) अनुसार वार्षिक बजेट तथा कार्यक्रममा समावेश नभएका नयाँ नीति, योजना वा कार्यक्रम निर्वाचन अवधिमा घोषणा, स्वीकृत वा सञ्चालन गर्न नपाइने व्यवस्था छ।

यद्यपि, सरुवा रोगको महामारी वा नियन्त्रण बाहिरको आपत्कालीन अवस्था सिर्जना भएमा आयोगको स्वीकृति लिएर मात्र यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था आचारसंहितामा उल्लेख छ।

यसै सन्दर्भमा आयोगले कार्यबाहक नगर प्रमुखले सुरु गरेको भनिएको घरदैलो स्वास्थ्य सेवा कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश थियो वा थिएन भन्नेबारे स्पष्ट जवाफ मागेको छ। यदि उक्त कार्यक्रम बजेट तथा कार्यक्रममा समावेश रहेको भए सोको प्रमाणित कागजातको प्रतिलिपि यो पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेस गर्न आयोगले महानगरपालिकालाई निर्देशन दिएको छ।

आयोगको पत्रपछि महानगरपालिकाले आवश्यक कागजातसहित आफ्नो स्पष्टिकरण पेस गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार