काठमाडौं ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आजदेखि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय परिचालित भएका छन्।
सरकारले यसअघि नै स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन गरिएको हो। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा प्रबन्धलाई थप चुस्त र प्रभावकारी बनाइएको छ।
एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले लिनेछ। बाहिरी सुरक्षा घेराको प्रमुख जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने छ। नेपाली सेना आजदेखि १६५ वटै निर्वाचन क्षेत्रमा परिचालित भएको जनाएको छ।
निर्वाचन सुरक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका थिए।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनलाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाका ‘वेस’ स्थापना गरिनेछ भने संयुक्त गस्तीसमेत सञ्चालन हुनेछ। सेनाले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
सुरक्षा योजनाअनुसार निर्वाचनअघि, निर्वाचनको दिन र निर्वाचनपछिका गरी तीन चरणमा सुरक्षा व्यवस्था गरिनेछ। निर्वाचनपूर्व मतपत्र छपाइ र ढुवानी, मतदानस्थल तथा मतपेटिका सुरक्षादेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी नेपाली सेनाले सम्हाल्नेछ। साथै विमानस्थल, कारागारलगायत संवेदनशील संरचनाको सुरक्षामा पनि सेना परिचालित हुनेछ।
आसन्न निर्वाचनमा देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगका अनुसार कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन्, जसमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य मतदाता रहेका छन्।
सुरक्षाको दृष्टिले दुई हजार ८४५ मतदानस्थललाई सामान्य, चार हजार ४४२ लाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ। सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ।
नेपाल प्रहरीका तर्फबाट ७७ हजार जनशक्ति परिचालित हुनेछन् भने जनशक्ति अपुग हुने भएकाले एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ। सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जना परिचालन गरिनेछ।
सुरक्षा निकायले निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आपत्कालीन अवस्थामा १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था गरिएको जनाएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्