काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम बन्दसूचीको विवरणअनुसार समानुपातिकतर्फ एक हजार ७७२ जना महिला उम्मेदवार रहेका छन् भने एक हजार ३६३ जना पुरुष उम्मेदवार छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दल सहभागी छन् भने आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ।
आयोगका अनुसार अन्तिम बन्दसूचीमा कूल तीन हजार १३५ जना उम्मेदवार कायम भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।
विभिन्न कारणले ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको आयोगले जानकारी दिएको छ। हटाइएकामध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम कायम रहेका २५ जनाको नाम समावेश छ।
त्यसैगरी तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रअन्तर्गत नपर्ने एक जना तथा सम्बन्धित राजनीतिक दलको अनुरोधमा नाम हटाइएका १० जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ।
आसन्न निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ भने हाल निर्वाचन हुन २९ दिन बाँकी रहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्