काठमाडौँ । बंगलादेशबाट कच्चा जुट आयातमा अवरोध भएपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योग संकटमा परेका छन्। कच्चा पदार्थको अभावका कारण यहाँ सञ्चालित उद्योगहरूले उत्पादन कटौती गरेका छन्।
नेपालमा सञ्चालित जुट उद्योगका लागि आवश्यक अधिकांश कच्चा जुट बंगलादेशबाट आयात हुने गरेको थियो। तर, गत सेप्टेम्बरदेखि बंगलादेशले कच्चा जुट निर्यातलाई ‘सशर्त’ (कन्डिस्नल) बनाएको छ। उद्योग सङ्घका अनुसार बंगलादेशभित्रै कच्चा जुट बाहिर पठाउन नहुने विरोध र बढ्दो आन्तरिक मागका कारण निर्यात प्रक्रिया झन्झटिलो बनेको छ।
सुनसरी–मोरङ कोरिडोरमा रहेको सबैभन्दा ठूलो जुट उद्योग अरिहन्त मल्टी फाइबर्स लिमिटेडका गोविन्द बजगाईंले बंगलादेशबाट जुट आयात रोकिएको र भारतबाट ल्याउन महँगो पर्ने जानकारी दिएका छन्। उनले बताए, “भारतमा जुटको मूल्य उच्च छ, महँगोमा कच्चा पदार्थ आयात गरेर उद्योग सञ्चालन गर्न समस्या भइरहेको छ।”
कच्चा जुटको अभावका कारण उद्योगहरूले हप्तामा दुई दिन उत्पादन कटौती गरेको र यसले कोरिडोरमा कार्यरत श्रमिकहरूलाई समेत समस्या पुगेको जानकारी उनले दिए।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा हाल ६ ठूला जुट उद्योग सञ्चालनमा छन्, जसमा करिब १२ हजार श्रमिक कार्यरत छन्। यहाँ वार्षिक रूपमा करिब ६५ हजार मेट्रिक टन कच्चा जुट आवश्यक पर्छ। यसमध्ये करिब ६० प्रतिशत बंगलादेशबाट र १५ प्रतिशत भारतबाट आयात हुने गर्दछ।
तथ्याङ्कअनुसार, कच्चा जुट आयातका लागि वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने गर्छ। आयातित कच्चा पदार्थबाट तयारी वस्तु बनाएर पुनः भारततर्फ निर्यात गरिन्छ, र यसबाट नेपाल वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढीको जुट सामग्री निर्यात गर्दछ। पछिल्लो समय भारत र बंगलादेशबीचको आन्तरिक असमझदारीका कारण जुट आयातमा समस्या देखिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्