Skip to content

‘मधेशको भविष्य मधेशीकै हातमा छ’ : जसपा अध्यक्ष यादव

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ  । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकास र सशक्तीकरण अब बाहिरी शक्तिमा भर नपरी, मधेशी जनताकै नेतृत्व र पहलबाट सम्भव हुने बताएका छन्।

बुधबार जनकपुरधाममा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा संबोधन गर्दै अध्यक्ष यादवले राज्य संरचनामा रहेको विभेदलाई पछाडि पार्दै मधेशको भविष्य मधेशी जनताले नै बनाउने बताए।

उहाँका अनुसार मधेशलाई राजनीतिक रूपमा कमजोर राख्न निर्वाचन प्रणालीमा असन्तुलन कायम गरिएको छ। जनसङ्ख्याका आधारमा नभई भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा मधेशी जनताको मतको मूल्य घटाइएको उहाँको आरोप थियो।

सप्तरी–३ क्षेत्रको उदाहरण दिँदै यादवले भने, “एक लाखभन्दा बढी जनसङ्ख्या हुँदा पनि एउटै प्रतिनिधि सीमित छ, तर पहाडी क्षेत्रमा थोरै जनसङ्ख्यामा बढी प्रतिनिधित्व छ। यो अन्यायपूर्ण हो।”

उहाँले ठूला राजनीतिक दलहरू-एमाले, कांग्रेस र माओवादी-मधेशको राजनीतिक प्रभाव बढ्ने डरले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न नचाहेको दाबी गरे। “मधेश बलियो हुन्छ भन्ने डरकै कारण सुधार अवरुद्ध गरिएको छ,” उनले भने।

कांग्रेसमाथि मधेशी मत प्रयोग गरेर सत्ता पुग्ने तर मधेशका मुद्दा बेवास्ता गर्ने आरोप लगाउँदै यादवले नयाँ राजनीतिक शक्तिहरू पनि पुरानै धारमा हिँडिरहेको टिप्पणी गरे।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका नेता संजय चौधरी, संजय सिंह, कामेश्वर झाल लगायतका नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई स्वागत गर्दै यादवले मधेश केन्द्रित राजनीतिक एजेन्डालाई अझ सशक्त बनाउने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार