Skip to content

मुगुको सोरुमा अज्ञात रोग फैलिँदा २०० भन्दा बढी भेडा बाख्रा मरे

कालोपाटी

३ घण्टा अगाडि

मुगु जिल्लाको सोरु गाउँपालिका–१० र ११ का विभिन्न गाउँमा पछिल्लो एक महिनादेखि अज्ञात पशुरोग फैलिँदा २०० भन्दा बढी भेडा र बाख्रा मरेका छन्।

यी दुई वडाको मुख्य पेशा भेडा–बाख्रा पालन भएकोले रोग तीव्र रूपमा फैलिँदा स्थानीय गोठालाहरू चिन्तित छन्। नेपाल किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाका अनुसार सो क्षेत्रमा करिब १,५००–२,००० भेडा र बाख्रा रहेका छन्।

संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गनाउने, दुब्लाउने, खोकी लाग्ने र लुतो लाग्ने लक्षण देखिएको छ। गोठालाहरूका अनुसार रतन मल्लका ८० भेडामध्ये २०० वटा मरेका छन् भने पुन्न मल्लका ६० मध्ये ९, नौले नेपालीका ४५ मध्ये ९, काईचन्द्र देवकोटाका १५० बाख्रामध्ये २०, प्रदीप प्याकुरेलका ४५ मध्ये १०, परेकलाल जैसीका ५० मध्ये ६ र कबे जैसीका ४० मध्ये ७ बाख्रा मरेको रिपोर्ट गरिएको छ।

स्थानीय किसानहरू दिनरात मेहनत गरेर भेडा–बाख्रा पालनमार्फत जीविकोपार्जन गर्दै आएका भए पनि ठूलो क्षतिको सामना गर्नु परेको छ। केही गोठालाले गाउँपालिका र जिल्ला पशु सेवा कार्यालयले समयमै जानकारी नदिएको र औषधि/सहयोग उपलब्ध नगराएको भन्दै असन्तोष व्यक्त गरेका छन्।

स्थानीयले तत्काल पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरी रोगको पहिचान, नियन्त्रण र पीडित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार