काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज आइतबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । निरन्तर अधिक तरलता कायम रहेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरी निक्षेप तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा कुल निक्षेप ७६ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ ।
आज हुने बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले बोल गरेका ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
निक्षेप संकलनका लागि आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुने र ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ चैत ८ गते भुक्तानी हुने जानकारी दिइएको छ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन तथा बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार बढीमा ६ महिनाअवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पछिल्लो समय पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्