काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई मुलुकको राजनीतिक इतिहास बदल्ने निर्णायक अवसरका रूपमा चित्रण गरेका छन् । युवाशक्तिको नेतृत्वबिना देश परिवर्तन सम्भव नभएको बताउँदै उनले पुराना दललाई अब इतिहासमै सीमित गर्नुपर्ने समय आएको उल्लेख गरे ।
रुपन्देही निर्वाचन क्षेत्र नं १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अहिलेको चुनाव सामान्य राजनीतिक प्रक्रिया मात्र नभई देशको भविष्य लेख्ने अवसर भएको बताए । ‘यो सभा होइन, जमघट हो । मुलुकले इतिहास लेख्ने अवसर पाएको छ, यस्तो अवसर विरलै पाइन्छ,’ उनले भने ।
उनले विगतका निर्वाचनमा धेरै उम्मेदवार विजयी भए पनि देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे । ‘धेरैपटक धेरै उम्मेदवारले जिते, तर देशले जितेन । हामी देशलाई जिताउन हिँडेका हौँ,’ लामिछानेले भने ।
जनताको शक्तिलाई कसैले पनि नजरअन्दाज गर्न नहुने उल्लेख गर्दै उनले विगतमा सत्तामा पुगेका नेताहरू आफ्नै इतिहास र शक्ति केन्द्रित राजनीतिमा अल्झिएको आरोप लगाए । अब जनताले त्यस्ता नेताहरूलाई पत्याउने अवस्था नरहेको उनको भनाइ थियो ।
रास्वपाभित्रको एकता र आन्तरिक समझदारीबारे चर्चा गर्दै लामिछानेले पद र भागबण्डाको राजनीतिभन्दा माथि उठेर नयाँ पुस्ता एक ठाउँमा उभिएको दाबी गरे । ‘हामी पदको भागबण्डा नगरी नयाँ साथीहरू एक ठाउँमा उभिएर आएका हौँ,’ उनले स्पष्ट पारे ।
स्थिर सरकार निर्माण पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै उनले आगामी पाँच वर्ष एउटै प्रधानमन्त्रीसहित स्थायी सरकार बनाइने प्रतिबद्धता जनाए । ‘५ वर्षको स्थायी सरकार आवश्यक छ, राजनीतिक अस्थिरताबाट देशलाई मुक्त गरिन्छ,’ उनले भने ।
उनले रुपन्देही–१ बाट पार्टीका महामन्त्री सुनील लम्साललाई उम्मेदवार बनाइएको जानकारी दिँदै उनलाई विजयी गराउन मतदातासँग आग्रह गरे । साथै चुनावी अभियानलाई जनअभियानका रूपमा अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए ।
युवामुखी नेतृत्व, स्थायी सरकार र जनमतको सम्मानलाई मूल एजेन्डा बनाउँदै लामिछानेले आगामी निर्वाचनलाई परिवर्तनको निर्णायक मोडका रूपमा प्रस्तुत गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्