Skip to content

वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । मुलुकको प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संरचना अझै पनि केही सीमित आयात वस्तुमा निर्भर रहेको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा सङ्कलित कुल राजस्वमध्ये ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयातबाट आएको हो ।

भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा कुल रु एक खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन भएको छ । यसमध्ये पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३७ अर्ब ८५ करोड राजस्व उठेको छ, जुन कुल राजस्वको सबैभन्दा ठूलो हिस्सा हो ।

त्यसपछि दोस्रो स्थानमा सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात रहेको छ । यस शीर्षकबाट मात्रै रु १३ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टका अनुसार कार्यालयको राजस्व मुख्यतः पेट्रोलियम पदार्थ र यातायातका साधन तथा पार्टपुर्जाको आयातमा निर्भर छ । अन्य वस्तुबाट हुने राजस्व तुलनात्मक रूपमा कम रहेको उहाँको भनाइ छ ।

पेट्रोलियम र सवारीबाहेक चालु आवको छ महिनामा फलाम तथा फलामजन्य सामग्रीबाट रु ६ अर्ब ८३ करोड, कपडा आयातबाट रु ५ अर्ब २६ करोड, तथा विद्युतीय मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट रु ४ अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, मदिराजन्य पेय पदार्थको आयातबाट रु १ अर्ब ८३ करोड र शृङ्गार सामग्रीबाट रु १ अर्ब ८१ करोड राजस्व उठेको छ ।

विश्लेषकहरूका अनुसार वीरगञ्ज भन्सारको राजस्व संरचना सीमित वस्तुमा अत्यधिक निर्भर हुँदा आयात घटबढले सरकारी राजस्वमा प्रत्यक्ष प्रभाव पार्ने जोखिम रहन्छ । दीर्घकालीन रूपमा राजस्व आधार विविधीकरण गर्नुपर्ने आवश्यकता पनि यस तथ्यांकले औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार