Skip to content

मालवाहक सवारीको मापदण्ड तोकियो, क्षमताभन्दा धेरै लोड भए सडकमै झारिने

कालोपाटी

२५ मिनेट अगाडि

काठमाडौं । मालवाहक सवारी साधनलाई लोड बोक्ने विषयमा कडाइ भएको छ । यातायात व्यवस्था विभागले ७ वटा प्रदेशका यातायात मन्त्रालयलाई पत्राचार गर्दै मालवाहक सवारीको भारवहन नियमनमा कडाइ गर्न निर्देशन दिएको हो । नेपालका सडकमा क्षमताभन्दा बढी भार बोकेर गुड्ने मालवाहक सवारी साधनका कारण सडक क्षति हुने गरेको थियो ।

भने, क्षमताभन्दा धेरै लोड बोक्दा दुर्घटना समेत बढेको थियो । २०८२ साल माघ २७ गते विभागले सातै प्रदेशका यातायात मन्त्रालयलाई पत्राचार गर्दै मालवाहक सवारीको भारवहन नियमन कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

लामो समयदेखि यातायात व्यवसायी र सरोकारवालाले सवारीको क्षमताभन्दा बढी भार बोक्दा सडक संरचनामा ठूलो क्षति पुगेको भन्दै गुनासो गर्दै आएका थिए । क्षमताभन्दा धेरै लोड बोक्दा ब्रेक फेल हुने जस्ता कारणले सडक दुर्घटना बढेको थियो । विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को व्यवस्थालाई लागू गर्ने भएको हो । विभागले जारी गरेको पछिल्लो निर्देशन अनुसार अबदेखि प्रत्येक मालवाहक सवारीको दर्ता ब्लुबुकमा सवारीको कुल वजन, भारवहन क्षमता र भाररहित वजन स्पष्ट हुनुपर्ने छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६ (३) ले यसलाई अनिवार्य गरेको छ ।

तर, कतिपय यातायात कार्यालयले मनलाग्दी ढङ्गले भारवहन क्षमता कायम गर्ने गरेको पाइएपछि विभागले यस्तो कदम चालेको हो । रिजिड ट्रक र ट्रेलरमा अधिकतम भारवहन सीमा नै तोकिएको छ । रिजिड ट्रकले अधिकतम ३५ टन र ट्रेलर वा सेमी ट्रेलरको हकमा ४९ टनभन्दा बढी भार बोक्न पाउने छैनन् । निर्देशिकामा गरिएको व्यवस्था अनुसार अब सडकमा गुड्ने मालवाहक सवारीले आफ्नो एक्सल लोडका आधारमा मात्र सामान ढुवानी गर्न पाउनेछन् ।

२ एक्सल भएका ४ पाङ्ग्रे सवारीले अधिकतम १२ टन र २ एक्सल भएका ६ पाङ्ग्रे सवारीको हकमा १६.२ टन लोड बोक्न पाउने छन् । तीन एक्सल भएका ट्रकले २५ टन र ४ एक्सल भएका १२ पाङ्ग्रे ट्रकले ३१ टनसम्मको लोड बोक्न पाउने छन् । एकल एक्सलका लागि १०.२ टन, टेन्डम एक्सलका लागि १९ टन र ट्रिडम एक्सलका लागि २४ टनको सीमा तोकिएको छ । विभागले एक्सल लोडका आधारमा भार निर्धारण गर्दा टायरको सङ्ख्या र एक्सलको दूरीलाई समेत आधार मानेको छ ।

यसरी सीमा तोक्दा सडकको आयु बढ्ने र सवारी नियन्त्रणमा सहजता आउने विभागको दाबी छ । विभागले तोकेको लोड सीमाभन्दा धेरै लोड बोकेमा कानुन अनुसार जरिवाना हुनेछ । बढी भएको भार सडकमै अनलोड गरेर मात्र सवारी चलाउन पाइनेछ । भौगोलिक अवस्था र सामानको प्रकृति हेरी तोकिएको वजनमा २.५ प्रतिशतसम्मको अधिक वजन भएमा भने जरिवाना नगरी सचेत गराएर छोड्न सकिनेछ ।

पेट्रोलियम पदार्थ र ग्यास बुलेट जस्ता विशेष प्रकृतिका सामग्री ढुवानी गर्ने सवारी भने विशेष परिस्थितिमा तौलपुलको प्रयोगबिना पनि सञ्चालन हुनेछन् । ती सवारीको बिल–बिजकका आधारमा अनुगमन हुनेछ । विभागले देशभरका तौलपुलको अनुगमन गर्ने र ट्राफिक प्रहरीलाई भारवहन नियन्त्रणका लागि खटाउने छ । यातायात व्यवस्था कार्यालयले अब सवारी दर्ता गर्दा, बाटो इजाजत दिँदा र जाँचपास प्रमाणपत्र जारी गर्दा अनिवार्य रूपमा सवारीको उत्पादक कम्पनीले तोकेको ’ग्रस भेहिकल वेट’ र अनुसूची–१ मा उल्लेखित सीमा अनुसार गर्नुपर्ने छ ।

गाडी उत्पादकले बडी निर्माण नगरेको भए स्वीकृत प्राप्त तौलपुलमा वजन मापन गरेर मात्र भारवहन क्षमता तोक्नुपर्ने छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका महासचिव राजेन्द्र बानियाँले धेरै पहिलेदेखि व्यवसायीले सामान ढुवानी गर्ने सवारीलाई आफ्नो क्षमता अनुसार सामान बोक्ने व्यवस्था गर्न माग गर्दै आएको बताए । उनले भने, ‘हामीले धेरै पहिलेदेखि क्षमता अनुसार मात्रै सामान बोक्ने व्यवस्था गरौँ भनेर कुरा उठाएका थियौँ । यातायात मन्त्रीदेखि विभागसम्म कुरा पुर्याएका छौँ ।

विभागले निर्देशिका जारी गर्छ तर त्यो कार्यान्वयन हुँदैन । यसभन्दा पहिले पनि त्यस्तै हुँदै आएको छ । क्षमताभन्दा धेरै लोड बोक्दा सडक र सवारी दुवैको क्षमतामा ह्रास आउँछ । विदेशी र स्वदेशी सामान ढुवानी गर्ने गाडीलाई नियमन गर्न जरुरी छ । विभागले निर्देशन जारी गरेर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने पाटोमा लाग्नु आवश्यक छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले यातायात व्यवस्था विभागले क्षमता अनुसार मात्रै सवारीले लोड बोक्न पाउने निर्देशिका जारी गरेर राम्रो गरेको बताए । उनले भने, ‘सवारी साधनले आफ्नो क्षमताभन्दा धेरै सामान वा यात्री बोक्दा समस्या हुँदै आएको थियो ।

सामान बोक्ने सवारीले क्षमताभन्दा धेरै सामान बोक्दा सडकमा क्षति हुने र सवारी पनि दुर्घटना हुने गरेको छ । यात्री बोक्ने बसले पनि आफ्नो क्षमताभन्दा धेरै यात्री बोक्दा दुर्घटना हुने गरेको छ । विभागले लोडको सीमा तोकेर राम्रो गरेको छ । यसले दुर्घटना घटाउने छ भने सडकको आयु पनि बढाउने छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार