Skip to content

प्रतिनिधि सभा निर्वाचन : हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्।

प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली बिहीबार बिहान हेलिकप्टरमार्फत सोलुखुम्बु पुगेको हो। टोली प्रारम्भमा नाम्चे पुगेपछि अहिले सदरमुकाम सल्लेरीमा रहेको छ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका जिल्ला प्रमुखहरूले स्वागत गर्दै जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी गराएका छन्। प्रेस सल्लाहकार रावलका अनुसार जिल्लाका अधिकारीहरूले हालसम्मको अवस्थालाई हेर्दा फागुन २१ गते निर्वाचन सञ्चालनमा कुनै समस्या नहुने ब्रिफिङ गरेका छन्।

‘विगतका वर्षहरू हेर्दा फागुन महिनामा हिउँ परेको रेकर्ड छैन। त्यसैले २१ फागुनमा चुनाव गराउन समस्या नहुने जानकारी गराइएको छ,’ रावलले बताएका छन्।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेका अनुसार जिल्लामा १२३ मतदान स्थल रहेका छन्। हिउँ परेमा सात वटा मतदान स्थल प्रभावित हुन सक्ने सम्भावना रहेको छ, जसमध्ये चार वटा मतदान स्थल नाम्चेभन्दा माथिल्लो क्षेत्रमा पर्छन्। हालसम्म ती सबै मतदान स्थल सामान्य अवस्थामा रहेको जनाइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारका अनुसार आज र भोलि पूर्वी क्षेत्रका अन्य हिमाली जिल्लाको अवस्था बुझेर प्रधानमन्त्री पश्चिमतर्फ जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार