Skip to content

आज विश्व रेडियो दिवस मनाइँदै

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । आज १३ फेब्रुअरीका दिन विश्वभर विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सूचना, शिक्षा र मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा रेडियोले पु¥याएको योगदानको सम्मानस्वरूप हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

सन् २०११ मा युनेस्कोले १३ फेब्रुअरीलाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरका रेडियोकर्मी, सञ्चार संस्था र श्रोताहरूले आजका दिन विशेष कार्यक्रम, अन्तरक्रिया तथा सचेतनामूलक गतिविधि आयोजना गर्ने गर्दछन्।

रेडियोको आविष्कार सन् १८९४ मा इटालीका वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले गरेका थिए । तारबिनाको माध्यमबाट ध्वनि प्रसारण गर्न सकिने प्रविधिले सञ्चार क्षेत्रमा क्रान्ति ल्याएको थियो। समयक्रममा शर्टवेभ, मिडियमवेभ हुँदै एफएम र डिजिटल प्रविधिसम्म रेडियो विस्तार भएको छ ।

नेपालमा पनि रेडियोको आफ्नै ऐतिहासिक महत्व छ । रेडियो नेपाल स्थापना भएपछि देशभर सूचना प्रवाहको सशक्त माध्यमको रूपमा रेडियो विकसित भएको हो। राजनीतिक परिवर्तन, जनआन्दोलन तथा विपद्का समयमा रेडियोले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

विशेषगरी वि.सं. २०७२ को भूकम्पका बेला अन्य सञ्चार माध्यम प्रभावित हुँदा रेडियोमार्फत देशभर सूचना आदान–प्रदान गरी उद्धार तथा राहत कार्यलाई सहज बनाइएको थियो।

प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म विस्तार भए पनि रेडियो अझै विश्वसनीय, सुलभ र प्रभावकारी सञ्चार माध्यमका रूपमा स्थापित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार