Skip to content

सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री खुला गर्‍याे

कालोपाटी

४ घण्टा अगाडि

काठमाण्डौ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री खुला गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज एक सूचना जारी गर्दै विकास ऋणपत्र–२०८९ बिक्रीका लागि बोलकबोल आह्वान गरेको हो । ७ वर्षे अवधिको यो ऋणपत्र १० अर्ब रुपैयाँ बराबर निष्कासन गर्न लागिएको हो ।

कार्यालयले भोलिसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत आवेदन दिन आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले म्इःक् प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

निष्कासन भने पर्सि फागुन १४ गते हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ । साँवा भुक्तानी २०८९ फागुन १५ गते गरिनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने कार्यालयले जनाएको छ । ऋणपत्र धितोको रूपमा प्रयोग गर्न मिल्ने तथा दोस्रो बजारमा कारोबार योग्य हुनेछ ।

कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलदाताका लागि र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ । न्यूनतम खरिद सीमा ५ लाख रुपैयाँ तोकिएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका बोलदाताले आफूले कबोल गरेको रकमको २।५ प्रतिशत नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ । कार्यालयका अनुसार प्राप्त बोल आंशिक वा पूर्ण रूपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार ऋणपत्र निष्कासन तथा सञ्चालन समितिमा निहित रहनेछ ।

थप जानकारीका लागि कार्यालयको टेलिफोन नम्बर ०१–४५३८३५९ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । विकास ऋणपत्र भनेको सरकारले विकासका कामका लागि रकम जुटाउन जारी गर्ने एक प्रकारको सरकारी ऋणपत्र हो । यसलाई सामान्यतया सरकारले आन्तरिक बजारबाट पैसा उठाउन प्रयोग गर्छ । राष्ट्र बैंकले सरकारका तर्फबाट विकास ऋणपत्र जारी गर्ने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार