काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले जेन–जी आन्दोलनपछि देश कठिन परिस्थितिमा रहेकाले अहिलेको अवस्थामा देशलाई सम्हाल्ने क्षमता नेपाली कांग्रेससँग रहेको बताउनुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सप्तरी क्षेत्र नम्बर २ को राजविराजमा मंगलबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले देश परिवर्तनको चरणमा प्रवेश गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि बदलिएको बताउनुभयो। बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने र एकता तथा सहकार्यको भावनासहित अघि बढ्ने उहाँको भनाइ थियो।
देश र जनताको हितका लागि सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्ने पार्टी नेपाली कांग्रेस नै भएको उहाँले बताउनुभयो। जेनजी आन्दोलन सकारात्मक परिवर्तनका लागि भएको उल्लेख गर्दै उहाँले मुलुक बदलिने प्रक्रियाको सुरुआत भएको बताउनुभयो।
बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने र कसैको अनावश्यक आलोचना नगर्ने उहाँले बताउनुभयो। सबैलाई मिलाएर मुलुकको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले जिकिर गर्नुभयो।
कतिपय स्थानबाट संघीयताविरोधी आवाज उठ्न थालेको उल्लेख गर्दै अग्रजहरूको संघर्षबाट प्राप्त संघीय व्यवस्था कसैले कमजोर बनाउन नसक्ने उहाँले बताउनुभयो। संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले राजतन्त्र स्वीकार्य नभएको तर इतिहास र पुर्खाको योगदानलाई सम्मान गर्नुपर्ने बताउनुभयो। “हामी राजतन्त्र मान्दैनौं, गणतन्त्र मान्छौं। तर पुर्खाले दिएको योगदानको कदर गर्छौं, इतिहास बिर्सनु हुँदैन,” उहाँले भन्नुभयो।
राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जित कर्ण ले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले देश र जनतालाई निरन्तर साथ दिएको बताउनुभयो।
उहाँले यस क्षेत्रको समग्र विकासका लागि नेपाली कांग्रेसले उम्मेदवारी दिएको उल्लेख गर्दै विकासका लागि कांग्रेसलाई निर्वाचित गर्न आवश्यक रहेको बताउनुभयो।
नेपाली कांग्रेसले देशको आर्थिक समृद्धि तथा समग्र विकासका लागि प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको उहाँले बताउनुभयो। विगतमा यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले अपेक्षित विकास गर्न नसकेको उल्लेख गर्दै अब विकासको जिम्मेवारी कांग्रेसले लिने उहाँको भनाइ थियो।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव ले सप्तरी जिल्ला ऐतिहासिक तथा क्रान्तिकारी परम्परा भएको जिल्ला भएको बताउनुभयो।
उहाँले मतदाताले योग्य उम्मेदवार छानेर मतदान गर्नुपर्ने उल्लेख गर्दै विकासप्रेमी उम्मेदवार चयन गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले नेपाली कांग्रेसले देश र जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अनावश्यक आलोचना र विरोधको राजनीति नगर्ने बताउनुभयो।
नेपालको इतिहासमा नेपाली कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका सहमहामन्त्री बिन्दु यादव, नेताहरू सकलदेव सुतिहार, अर्जुनप्रसाद साह, इर्साद अन्सारी, सनत मण्डल, शम्भुलाल देव, समिर झा, महानन्द यादव र नन्दकिशोरलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।कार्यक्रममा करिब दुई दर्जन जेन–जी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कार्यक्रममा उल्लेखनीय सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्