काठमाडौँ ।मौन अवधिकै बीच सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको आरोपमा मधेश प्रदेशका पूर्वसभामुख रामचन्द्र मण्डलका ज्वाई रमेश मण्डल पक्राउ परेका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल, नेपाल मधेश प्रदेशका डिआइजी कृष्ण ढकालले नेपाल प्रेससँगको कुराकानीमा एउटा चारचक्के गाडी र चालक नियन्त्रणमा लिएको पुष्टि गरे। “हाम्रो टोलीले गाडी र चालकलाई नियन्त्रणमा लिएको रिपोर्ट आएको छ, थप बुझ्ने काम भइरहेको छ,” उनले भने।
यसै विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पनि घटना भएको पुष्टि गरे, तर विस्तृत विवरण खुलाउन चाहेनन्।
स्रोतका अनुसार नियन्त्रणमा लिइएको गाडी सरकारी भए पनि त्यसमा निजी नम्बर प्लेट प्रयोग गरिएको थियो। चेकजाँचका क्रममा गाडी अवैध तथा गैरकानुनी रूपमा सञ्चालन गरिएको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ। गाडीबाट केही रकमसमेत फेला परेको दाबी गरिए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ। उक्त गाडी प्रदेश सभाको रहेको बुझिएको छ।
पूर्व सभामुख मण्डलमाथि यसअघि आचरणविपरीतको कार्यको आरोप लागेपछि मधेश प्रदेश सभाका दुई तिहाइ सदस्यले पदमुक्त गरेका थिए। त्यसपछि उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै धनुषा क्षेत्र नम्बर–१ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। पक्राउ परेका रमेश मण्डल उनका निजी सचिवसमेत रहेका छन्।
चेकजाँचमा खटिएका एक सुरक्षा स्रोतका अनुसार मतदाता प्रभावित पार्ने उद्देश्यले उक्त गाडी प्रयोग गरिएको आशंका छ। सुरक्षा निकायलाई छल्न नम्बर प्लेट परिवर्तन गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। स्रोतका अनुसार गाडी र सम्बन्धित व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धनुषाधामको नियन्त्रणमा बुझाइएको छ। पक्राउ परेको बागमती–प्र–०१ ००३२ च ७८९४ नम्बरको गाडी पक्राउ गरिएको छ । स्रोतका अनुसार सो नम्बर नक्कली नम्बर रहेको छ ।
स्रोतका अनुसार सो गाडी र व्यक्ति इलाका प्रहरी कार्यालय धनुषाधामको नियन्त्रण बुझाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्