Skip to content

सिराहामा पक्राउ परेका जसपा उम्मेदवार यादवसहित ५ जना रिहा

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) सिराहा– ३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जनालाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।

निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिराहाले निर्देशन दिएको हो । सिराहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले सम्पूर्ण कागजातहरूको अध्ययन पश्चात ३ दिनभित्र स्पष्टीकरण बुझाउने समय सीमा दिइएको बताए ।

उनले भने– ‘हामीले सम्पूर्ण कागजातहरू अध्ययन गर्‍यौँ, तत्काललाई ३ दिनभित्र स्पष्टीकरण बुझाउने मौका दिएका छौँ। उहाँहरूले बुझाएको स्पष्टीकरण र प्रमाणहरूको आधारमा थप प्रक्रिया अगाडी बढ्छ।’

उनले पक्राउ परेका ५ जनालाई तत्काल छोडिएको जानकारी दिए । बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको उप्रेतीले जानकारी दिए । उनले अहिले अनुसन्धान जारी रहेको र निर्वाचन कानुनअनुसार कारबाही हुने समेत बताए ।

प्रहरीले गएराति मौन अवधिका बेला नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको थियो । माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा संयुक्त चेकजाँच गर्ने क्रममा उक्त रकमसहित यादव नेतृत्वको समूह पक्राउ परेको थियो ।

यादवसहित विष्णुपुर ५ लक्ष्मीपुरका ३२ वर्षीय श्यामकुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय बप्रेन्द्रकुमार यादव र सवारी चालक नरहा ३ का २८ को जितेन्द्रकुमार महतो पनि पक्राउ परेका थिए ।

मौन अवधिमा आर्थिक लेनदेन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को उपदफा (१) र (२) बमोजिम जरिवाना गर्न सक्ने आचारसंहितामा उल्लेख छ।

आचार संहितामा ६ महिनासम्म जरिवाना नबुझाउने उम्मेदवारलाई आयोगले तत्काल लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने व्यवस्था समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार