Skip to content

पश्चिम एसिया संकट : एकै दिनमा १६ हजार नेपालीको अनलाइन दर्ता

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । पश्चिम एसियामा विकसित सुरक्षा अवस्थाबीच त्यहाँ रहेका नेपाली नागरिकहरूको विवरण संकलन गर्न सुरु गरिएको अनलाइन दर्ता प्रणालीमा एकै दिनमा करिब १६ हजार जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले हिजो (मंगलबारदेखि) अनलाइन पोर्टल सञ्चालनमा ल्याउँदै आफ्नो विवरण दर्ता गराउन गराउन अनुरोध गरेको थियो । उक्त अनलाइन दर्ता प्रणालीमा हालसम्म करिब १६ हजार नेपालीले आफ्नो विवरण दर्ता गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयले एक जारी गरेको सूचना अनुसार अनलाइन प्रणाली सञ्चालमा ल्याएको एक दिनमै उक्त संख्यामा नेपालीहरुले आफ्नो विवरण दर्ता गराएका हुन् ।

उक्त दर्ता प्रणालीलाई सबैका लागि थप सरल, सहज र सर्वसुलभ बनाउँदै व्यापक पहुँच सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ । यस प्रयोजनका लागि नियोगहरूलाई त्यहाँस्थित नेपाली संघसंस्था, समुदाय तथा गैरआवासीय नेपाली संघ लगायतसँग समन्वय गरी सूचना प्रवाह सुदृढ गर्न निर्देशन दिइएको छ । प्राप्त विवरणका आधारमा आवश्यक सहयोगको प्रकृति तथा प्राथमिकता निर्धारण गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

इजरायल अमेरिका र इरानबीच भइरहेको हवाई आक्रमण जारी छ । इरानले पश्चिम एसियाली देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरुमा मिसाईल आक्रमण गर्दै आएको छ । जसले गर्दा ति क्षेत्रमा रहेका १७ लाखभन्दा बढी नेपालीको सुरक्षा चाँसो बढेको छ ।

सरकारले उक्त परिस्थितिबारे काम गर्नका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको अध्यक्षतामा इमरेन्सी रेस्पोन्स टिम (ईआरटी) गठन गरेको छ । आज बसेको ईआरटीको बैठकले विभिन्न निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्