Skip to content

ग्यास अभावपछि इन्डक्सन प्रयोग गर्न आग्रह

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुन थालेपछि त्यसको विकल्पमा विद्युतीय चुलो (इन्डक्सन) प्रयोग बढ्न थालेको छ । सरोकारवाला संस्थाले पनि उपभोक्तालाई इन्डक्सनकै प्रयोग आग्रह गरेका छन् ।

अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा देखिएको तनावबाट ग्यास आपूर्ति प्रभावित भइरहेको छ । आपूर्तिमा समस्या देखिन थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले उपभोक्तालाई यस्तो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको खपत कम हुने गरी बिजुलीको प्रयोग बढाउन सकिने बताउनुभयो ।

इन्डक्सन, राइस कुकुर प्रयोग गर्दा वातावरणमैत्री पनि हुने र ग्यासभन्दा सस्तो पर्ने भएकाले विकल्पमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

बजारमा माग अनुसार आयात नहुँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । निगमले बजारमा ग्यासको अभाव कम गर्न शुक्रबारदेखि आधा तौल भएको ग्यास सिलिन्डर बिक्री सुरु गरेको छ । निगमले ग्यासको सट्टा बिजुलीको खपत बढाउने, राइड सेयरिङको व्यवस्था गर्ने, विद्युत्का लागि जेनेरेटर नचलाउन उपभोक्तालाई आग्रह गरेको छ । ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न आमउपभोक्तालाई साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आग्रह गरेको छ ।

मध्यपूर्वी देशमा देखिएको तनावले ग्यास आपूर्तिमा समस्या हुने धेरैको आशङ्का छ । नेपालले भारतबाट आपूर्ति गर्ने हुँदा मध्यपूर्वको समस्याले नेपालमा पनि प्रभाव पर्छ भन्ने डरमा आमउपभोक्तामा छ ।

बजारमा विभिन्न ब्रान्डका विद्युतीय चुलो पाइने गर्छन् । ग्यासभन्दा सस्तो पर्ने र खाना पकाउन छिटोछरितो हुने हुँदाको यसको प्रयोग उपयुक्त देखिन्छ । व्यवसायीका अनुसार बजारमा सामान्य तीन हजारदेखि उच्च गुणस्तरका १० हजार रुपियाँ सम्मका विद्युतीय चुलो बजारमा उपलब्ध छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार सेट नभएको चुलोको मूल्य चार हजारदेखि पाँच हजार, सेटसहितको चुलो सात हजारदेखि नौ हजार पाँच सय रुपियाँसम्ममा खरिद गर्न सकिन्छ ।

राजधानीको महाबौद्धका व्यापारी दिनेश अग्रवालले ग्यासको अभाव हुँदै गएपछि इन्डक्सन चुलोको बिक्री बढ्दै गएको जानकारी दिनुभयो । गुणस्तर हेरेर तीन हजार रुपियाँभन्दा माथिको चुलो पाउन सकिने उहाँले जानकारी दिनुभयो ।

निगमका प्रवक्ता मनोज ठाकुरले मध्यपूर्वको प्रभाव पर्ने आशङ्का अहिले धेरै उपभोक्ताले घरमा भएका सबै खाली सिलिन्डरसमेत भर्न थालेपछि बजारमा ग्यास आपूर्तिमा केही असहज देखिएको जानकारी दिनुभयो । ग्यासमा पूर्ण रूपमा आयातमा भर पर्नुपर्ने भएकाले उपभोक्ताले पनि सुरक्षात्मक प्रबन्ध गर्न जरुरी भएकाले विद्युतीय चुलो प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराएको छ । महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपियाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुने व्यवस्था गरिएको छ ।

ग्यास अभावको हल्लाले उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले निगमले टेकुस्थित निगमको कार्यालयपरिसरबाट विभिन्न ब्रान्ड ग्यास बिक्रीवितरणसमेत गर्दै आएको छ ।

निगमका अनुसार बजारमा करिब एक करोड ४० लाख ग्यास सिलिन्डर छन् । दैनिक ३० लाख सिलिन्डर खपत हुन्छन् । पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा ग्यासको प्रयोग बढ्दै गएकाले खपतसमेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्