Skip to content

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ ।

फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्