Skip to content

आठ महिनामा सरकारले उठायो ७ खर्ब ४७ अर्ब राजस्व

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८२र८३ को फागुन महिनासम्ममा कुल ७ खर्ब ४७ अर्ब २८ करोड ५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार फागुन ३० गतेसम्म सो बराबर राजस्व सङ्कलन भएको हो ।

यो सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३.७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब २० अर्ब २४ करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै, फागुन महिनामा मात्रै सरकारले ८२ अर्ब २५ करोड ५६ लाख रुपैयाँ राजस्व उठाएको छ ।

मन्त्रालयका अनुसार फागुन मसान्तसम्म कुल ९ खर्ब १० अर्ब २० करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । आठ महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८२.१० प्रतिशत मात्र प्रगति हासिल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

१. भन्सार महसुल

फागुन मसान्तसम्म सरकारले भन्सार महसुलतर्फ १ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, १ खर्ब ४४ अर्ब ५० करोड १४ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । यो लक्ष्यको ७३.७६ प्रतिशत मात्र हो ।

यद्यपि, गत वर्षको सोही अवधिमा १ खर्ब ४४ अर्ब १८ करोड २१ लाख रुपैयाँ सङ्कलन भएको तुलनामा यस वर्ष ८.१२ प्रतिशतले वृद्धि देखिएको छ । भन्सार अन्तर्गत पैठारीमा ८.०४ प्रतिशत र निकासी तर्फ २२५.६५ प्रतिशतको वृद्धि देखिएको छ ।

२. मूल्य अभिवृद्धि कर

राजस्वको मुख्य आधार मानिने मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको सङ्कलनमा पनि ७.३५ प्रतिशतको वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म २ खर्ब ४६ अर्ब ४३ करोड ९० लाख रुपैयाँको लक्ष्य राखिएकोमा २ खर्ब २५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ सङ्कलन भएको छ ।

गत वर्ष सोही अवधिमा २ खर्ब १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ सङ्कलन भएको थियो । भ्याट अन्तर्गत उत्पादन, बिक्री र सेवामा ७।१३ प्रतिशत र पैठारीतर्फ ७.५१ प्रतिशतको वृद्धि भएको छ ।

३. अन्तःशुल्क

अन्तःशुल्क सङ्कलनमा दोहोरो अंकको सुधार देखिएको छ । गत वर्षको फागुन मसान्तसम्म १ खर्ब ८ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १०.४४ प्रतिशतले वृद्धि भई १ खर्ब २० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा १ खर्ब ३३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ सङ्कलन गर्ने सरकारको लक्ष्य थियो । आन्तरिक उत्पादनतर्फको अन्तःशुल्कमा १०.०१ प्रतिशत र पैठारीतर्फ ११।०६ प्रतिशतको वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

४. आयकर र गैर–कर राजस्वमा गिरावट

आयकर र अन्य राजस्व (गैर–कर) मा भने गिरावट देखिएको छ । आयकर तर्फ गत वर्ष फागुन मसान्तसम्म १ खर्ब ७३ अर्ब २६ करोड ५ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १.४२ प्रतिशतले घटेर १ खर्ब ७० अर्ब ८० करोड ४१ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । आयकरको लक्ष्य २ खर्ब ३७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ थियो ।

त्यसैगरी, गैर–कर राजस्वतर्फ (अन्य राजस्व) गत वर्ष ८१ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १३।३१ प्रतिशतले घटेर ७० अर्ब ६९ करोड ४८ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । गैर–कर राजस्वको लक्ष्य ९३ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।

५. शिक्षा सेवा शुल्क र अन्य

शिक्षा सेवा शुल्क र अन्य साना शीर्षकमा भने उत्साहजनक वृद्धि देखिएको छ । यस शीर्षकमा गत वर्ष २ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष ६६।६२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

यस्तो छ विभागीय कार्यसम्पादनको अवस्था

विभागीय रूपमा हेर्दा भन्सार विभागले फागुन मसान्तसम्म ३ खर्ब १९ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा १.४८ प्रतिशतले बढी हो । भन्सारलाई यो अवधिमा ३ खर्ब ७८ अर्ब १६ करोड ४७ लाख उठाउने लक्ष्य दिइएको थियो । यो सङ्कलन लक्ष्यको ७९.३१ प्रतिशत हो ।

अर्कोतिर आन्तरिक राजस्व विभागले ३ खर्ब ५६ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ सङ्कलन गरेको छ, जसमा ३.९० प्रतिशतको वृद्धि देखिएको छ । आन्तरिक राजस्वलाई यो अवधिमा ४ खर्ब ३८ अर्ब २६ करोड ५३ लाख उठाउने लक्ष्य दिइएको थियो । यो राजस्व सङ्कलन लक्ष्यको ८१।३८ प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार