काठमाडौँ । इटहरीमा रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले बचत फिर्ता पाएका छन् ।
कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार भन्दा कम बचत भएका सदस्यहरूको बचत फिर्ता गरेको हो ।
समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार, २० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर बचत फिर्ताको प्रक्रिया सुरु भएको हो । उनका अनुसार, २८७ साना बचतकर्ताको २८ लाख ५७ हजार रुपैयाँ बचतकर्ताको बैंक खातामा पठाइएको छ ।
समस्याग्रस्त अम्बे कोशी सहकारीको व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गठन गरेको समितिले लिएपछि सहकारीले लगानी गरेको ऋणमध्ये १ करोड ८७ लाख रुपैयाँ असुल गरेको थियो ।
सहकारीले असुल गर्नुपर्ने ऋण ४२ करोड ६० लाख भन्दा बढी छ । २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ताका लागि समितिमा निवेदन परेको छ ।
समिति सदस्य जीवन काफ्लेका अनुसार ऋणीहरूबाट रकम असुली गर्ने प्रक्रिया अघि बढेका कारण २० हजारसम्मको रकम फिर्तापछि १ लाख सम्मको बचत फिर्ता गर्ने तयारी छ । उनका अनुसार समितिले ऋण असुल गर्दैछ, ऋणले नपुगे सहकारी र सञ्चालकको सम्पत्ति लिलाम गरी बचत फिर्ता हुनेछ ।
प्रदेश सरकारले २०८१ पुस २३ गते अम्बो कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । समस्याग्रस्त घोषणापछि सरकारी समितिले जिम्मेवारी लिएर सहकारीको सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको थियो ।
कोशी सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकारको पहलमा पहिलो पटक बचत फिर्ता गर्ने काम सुरु भएको बताए । उनका अनुसार बचत फिर्ता गर्ने काम नेपालमै पहिलो हो । पहिलो चरणमा २० हजार र त्यसपछि लगतै एक लाख मुनिको बचत फिर्ता गर्ने तयारी रहेको उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्