काठमाडौं । स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । संसद सचिवालयले सार्वजनिक गर्दैन कि भन्ने शंका लागेर आफैँले फेसबुकमा हालेको उनको भनाइ छ ।
पुनले देखाएको सम्पत्ति विवरणमा उनको चारवटा जग्गा देखिन्छ भने घर एउटा पनि छैन । आफू डेरामा बसिरहेको उनले बताएका छन् ।
पुनको स्थायी ठेगाना चितवनको राप्ती नगरपालिका-८ स्थित खुरखुरे टोल रहेको छ । यहाँबाट आफूले नागरिकता प्राप्त गरेको उनले बताएका छन् । यस्तै, हाल कास्कीको हमालटोलमा भाडाको घरमा बसिरहेको उनको भनाइ छ ।
पुनका अनुसार कास्कीको माझठाना गाउँपालिकाको वडा नम्बर ७ मा उनको चार टुक्रा जग्गा छ । ती सबै जग्गा जम्मा ४ लाख जतिमा २०५२ सालमा पदम पुनसँग मिलेर किनेको उनले बताएका छन् । कुल मिलाएर जग्गाको क्षेत्रफल ४ रोपनी ६ अना जति हुन आउँछ । यो सबै जग्गा बिक्रीमा राखे पनि अहिलेसम्म नबिकेको उनले जानकारी दिएका छन् ।
उनले आफूसँग ३ तोला सुन रहेको बताएका छन् जुन २०६० सालमा किनिएको हो । यो सुन श्रीमतीलाई इस्टमित्रले उपहार दिएको उनको दावी छ । यस्तै उनको दुई बैंकमा गरी २९ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । त्यसमध्ये २५ लाख रूपैयाँ हालै चुनाव लड्दा प्राप्त सहयोगबाट उब्रेको हो ।
यो रकम बेनीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालन गर्न खर्च गरिरहेको उनले बताएका छन् । बाँकी चार लाख पनि साथीहरुबाट प्राप्त भएको र व्यक्तिगत खर्च गर्ने पुनको भनाइ छ ।
पुनको विरणमा उल्लेख भएअनुसार उनीसँग सवारीसाधन छैन भने बैंकमा सेयर पनि शून्य छ । आफ्नो आत्मकथा २ लाख ५० हजार प्रति बेचेर आएको पैसा आविस्कार केन्द्रको खातामा जम्मा गरिरहेको उनले बताएका छन् ।
पुनले भनेका छन्, ‘संघीय संसद सचिवालयलाई म प्रतिनिधिसभा सदस्य महावीर पुनले बुझाएको मेरो सारा भौतिक धन सम्पतिको विवरण हेर्नुहोस् । खासगरी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्यो भन्ने विद्वानहरू र रीस गर्ने व्यक्तिहरूले यो हेर्नु होला र छानबिन गर्नु होला ।
पुनका अनुसार उनले यो विवरण शिक्षामन्त्री हुँदा पनि बुझाएका थिए, तर उति बेलाको सरकारले सार्वजनिक गरिदिएन ।
उनी थप्छन्, ‘यी भौतिक सम्पत्ति बाहेक मेरो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य र असीमित सम्पत्ति भनेको देश विदेशमा बसोबास गर्ने मेरो असंख्य सहयोगीहरू हुन् ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्