Skip to content

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

कालोपाटी

६ मिनेट अगाडि

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वअर्थसचिव शङ्कर अधिकारीसहित १३ जना व्यक्ति र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शङ्करप्रसाद अधिकारी र महेश्वर न्यौपानेलाई विपक्षी बनाएको छ । यस्तै तत्कालीन सहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, प्रदीप अधिकारीसहित चिनियाँ कम्पनी सीएमसी र त्यसका प्रतिनिधिविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।

विमानस्थल निर्माणका क्रममा मूल सम्झौता विपरीत चिनियाँ ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई करछुट दिएको आरोपमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । उनीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो कायम गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले गएको मङ्सिर २१ गते पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसपछि चैत ८ गते पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । आज दायर भएको यो मुद्दा तेस्रो हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार