काठमाडौँ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा ०८३ साल वैशाख महिनामा मात्रै एक करोडभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार वैशाख महिनाभरि कुल एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको हो।

समितिले मासिक भेटी तथा तीर्थयात्री संख्या सार्वजनिक गर्दै वैशाख महिनामा पाथीभराको दर्शन गर्न आउने भक्तजनको संख्या ५२ हजार २२८ पुगेको जनाएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले वैशाख ६ गतेदेखि ३१ गतेसम्म विभिन्न मितिमा नेपाल बैंकमार्फत उक्त रकम जम्मा गरिएको बताए ।

सबैभन्दा धेरै वैशाख १७ गते ४२ लाख तीन हजार रुपैयाँ जम्मा भएको हाम्बाङले जानकारी दिए ।

पाथीभरा माताको दर्शनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक तथा भक्तजनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ। धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा रहेको पाथीभरामा विशेषगरी वैशाख महिनामा ठुलो संख्यामा श्रद्धालु पुग्ने गरेका छन्।

समितिले भेटी रकम र दर्शनार्थी संख्या मासिक रूपमा सार्वजनिक गर्दै पारदर्शिता कायम गर्ने प्रतिबद्धताअनुसार विवरण सार्वजनिक गरिएको जनाएको छ।