Skip to content

सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएपछि गृहमन्त्री सुधन गुरुङले घटनाबारे सुरक्षा प्रमुखहरूसँग छलफल थालेका छन् ।

सिंहदरबारमा गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख नारायदत्त पौडेलसँग छलफल गरेका हुन् । गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार घटनाबारे गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।

गएराति दुई समुदायको बिचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको हो । हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

झडप सुरु भएपछि प्रहरीले ३ राउन्ड र सशस्त्रले ७ राउन्ड हवाई फायर गरेको सुरक्षाकर्मीहरूले दाबी गरेका छन् । झडपमा प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना प्रहरी र ५ जना सशस्त्रका सुरक्षाकर्मी र ९ जना स्थानीय घाइते भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले घटनास्थलमा सशस्त्रले २० राउन्ड फायर गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार