काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमणले त्यहाँका स्थानीयवासी तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री शाहको भ्रमणसँगै मुस्ताङको पर्यटन, धार्मिक क्षेत्र र सडक पूर्वाधार विकासले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुग्नुभएको थियो । उहाँ काठमाण्डौबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरमार्फत सिधै मुक्तिनाथ क्षेत्र पुग्नुभएको थियो । तर प्रधानमन्त्री शाह भने बर्खायाममा समेत बेनी–जोमसोम सडकखण्डको कठिन यात्रा गर्दै आफैँ गाडी चलाएर अस्ति शनिवार जोमसोम पुग्नुभएको हो ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले त्यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले बताउनुभयो । प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाटै शुरु हुनु र सडकमार्गबाटै यात्रा गर्नुले जिल्लाको सडक पूर्वाधारतर्फ समेत सरकारको ध्यान जाने आशा बढेको उहाँले बताउनुभयो ।
उहाँले कोरला नाकालाई व्यवस्थित र प्रभावकारी बनाउन सके मुस्ताङको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो । कोरला नाकामा अध्यागमन कार्यालयलाई थप सक्रिय बनाउँदै राहदानीसम्बन्धी सुविधा उपलब्ध गराउन सके कैलाश मानसरोवर धार्मिक तीर्थाटनका लागि आउने पर्यटकलाई सहज हुने उहाँको भनाइ छ ।
त्यस्तै, उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकका लागि विद्यमान प्रतिबन्ध तथा प्रक्रियालाई थप सहज बनाउन सके भारत, नेपाल र चीनलाई जोड्ने त्रिदेशीय पर्यटनमार्ग विकास गर्न सकिने अध्यक्ष लालचनले बताउनुभयो ।
मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पनि प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई त्यहाँका पर्यटन व्यवसायीका लागि महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्