Skip to content

‘प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकता र ‘ग्रान्ड शो’ मा सीमित नहोस्’ : गगन थापा

कालोपाटी

९ मिनेट अगाडि

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसङ्घको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा सीमित नगर्न सुझाव दिनुभएको हो ।

नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढङ्गले उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

भोटेकोशीको बाढीजस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभयो ।

साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेन्डाहरूको अध्ययन गरेर तयारीका साथ जान कांग्रेस सभापति थापाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार