Skip to content

असोज ८ गतेदेखि प्रभाव पार्ने मौसमी प्रणाली प्रति उच्च सावधानी अपनाउन मौसमविद्हरुको सुझाव

कालोपाटी

३ मिनेट अगाडि

काठमाण्डौ । असोज ८ गते अर्थात् आउँदो बिहिबारदेखि नेपालका विभिन्न भू–भागमा मुसल्धारे वर्षा हुन सक्ने प्रक्षेपण मौसमविद्हरूले गरिरहँदा सरकारी निकायहरूले भने कति वर्षा हुन्छ भन्ने अहिले नै भन्न सकिने अबस्था नरहेको बताएका छन् ।

मौसमी गतिविधिलाई नजिकबाट नियालिरहेको र अबस्था एकिन भएपछि जानकारी गराउने जल तथा मौसम बिज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली पश्चिमी वायुसँग मिसिएमा नेपालमा चर्को असर पर्न सक्ने मौसमविद्हरूको भनाइ छ ।

विशेष गरी गण्डकी र त्यसभन्दा पूर्वका भू–भागमा ठूलो वर्षाको सम्भावना देखाइएको छ । मौसमविद् उज्जवल उपाध्यायका अनुसार कति पर्छ भन्ने कुरा अझै प्रस्ट नभएपनि निकै ठूलो वर्षाको संभावना देखिएको छ ।

जलवायु विपद् विज्ञहरु जमिनमा पहिले नै ओसको मात्रा धेरै भइसकेकाले अब २४ घण्टामा १०० मिलिमिटर मात्रै वर्षा भए पनि खोलानालामा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहने बताउँछन् । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमी ’ट्र्याक’हरू निरन्तर परिवर्तन भइरहने भएकाले ठोस निष्कर्षमा पुग्न अझै केही समय लाग्नेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले नागरिकलाई अनावश्यक भयभीत नहुन आग्रह गर्दै आधिकारिक धारणा र आवश्यक सतर्कताको सन्देश छिट्टै जारी गरिने बताउनुभएको छ ।

अघिल्ला विपद्का कारण धेरै ठाउँमा पहिरोको जोखिम कायमै रहेको र चाडबाडको समय नजिकिएकाले यात्रा गर्दा मौसमको अद्यावधिक सूचना लिएर मात्र निस्कन र सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार