काठमाडौं । अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन् । तर उनले ममताको हत्या नगरेको र आत्महत्या गरेपछि आफू डराएर शव लुकाउन खोजेको दाबी गरेका छन् ।
अदालतमा दोस्रो दिन बयान दिने क्रममा भट्टले ममताको शव व्यवस्थापन गर्न खोजेको, शरीरका विभिन्न भाग काटेको र फोहोरमा फालेको घटनाबारे विस्तृत खुलासा गरेका हुन् । सन् २०२४ को गर्मीयाममा बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन ।
भट्टमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोग लागेको छ ।
शव लुकाउन शरीर नै काटेको स्वीकार
भट्टले अदालतमा दिएको बयानअनुसार ममतालाई घरभित्र अचेत अवस्थामा फेला पारेपछि आफूले सीपीआर दिने प्रयास गरेका थिए । तर प्रहरी वा आपत्कालीन सेवामा खबर नगरी घटनास्थलमै अलमलिएको उनको भनाइ छ ।
उनले पत्नीको मृत्युमा आफूलाई दोषी ठहर गरिने डरले शव लुकाउने निर्णय गरेको दाबी गरेका छन् ।
भट्टले शव फोहोरको डस्टबिनमा अटाउन नसकेपछि शरीरका विभिन्न भाग काटेर सानो बनाउने प्रयास गरेको स्वीकार गरेका छन् । उनले ममताका खुट्टा शरीरबाट अलग गर्न खोजेको र त्यसका लागि ‘रायोबी’ ब्रान्डको इलेक्ट्रिक आरा प्रयोग गरेको पनि बताएका छन् ।
यद्यपि, मानसिक तथा शारीरिक रूपमा कमजोर महसुस भएपछि शव टुक्र्याउने काम पूरा गर्न नसकेको उनको दाबी छ ।
उनका अनुसार शवका अवशेष राख्न तीनवटा फोहोरका झोला प्रयोग गरिएको थियो । घरको डस्टबिनमा रहेको पुरानो फोहोरसमेत गाडीमा राखेर फल्स चर्चमा फालेको उनले बताएका छन् । ममताको शव भने घरको ग्यारेजमा रहेको फोहोरमा फालेको उनको भनाइ छ ।
अभियोजन पक्षले शव फेला नपरोस् भनेर टुक्राटुक्रा पारेर फोहोरमा राखेको हो भन्दै प्रश्न गर्दा भट्टले स्वीकार गरेका थिए ।
शव व्यवस्थापनका लागि होम डिपो र वालमार्ट पुगेका थिए
अदालतमा भट्टले शव लुकाउन आवश्यक सामग्री खोज्दै होम डिपो र वालमार्ट गएकोसमेत खुलाएका छन् ।
उनले होम डिपोबाट पञ्जा किनेको स्वीकार गर्दै पोटोम्याक नदीसम्म शव लैजान मिल्ने सामग्री खोजिरहेको बताएका थिए । शव काट्न चक्कुसमेत प्रयोग गरेको र ममताको मोबाइल फोन पछि नालीमा फालेको उनले बयान दिएका छन् ।
अभियोजन पक्षले उनको गुगल सर्च हिस्ट्रीलाई पनि प्रमाणका रूपमा प्रस्तुत गरेको थियो । भट्टले अनुसन्धान अवधिमा आफूले कम्तीमा १४ हजार पटक गुगल सर्च गरेको अनुमान सुनाएका थिए ।
‘मिट कटर’ र ‘नाइफ सर्पनर’ जस्ता सामग्री खोजिएको विषयमा प्रश्न गर्दा उनले केही कुरा खोजेको सम्झना भए पनि त्यसको कारण भने स्पष्ट पार्न सकेनन् ।
घरेलु हिंसाको आरोप अस्वीकार, सम्बन्धविच्छेद गर्न चाहेको खुलासा
बयानका क्रममा भट्टले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन् । तर ममताका परिवार र साथीहरूले उनी घरेलु हिंसाको सिकार भएको बताउँदै आएका छन् ।
अभियोजन पक्षले सन् २०२३ डिसेम्बर ११ को एउटा तस्बिरसमेत अदालतमा देखाएको थियो । उक्त तस्बिरमा ममताको आँखामुनि नीलडाम तथा हात र नाकमा रगत देखिएको थियो ।
ममताले नरेशलाई पठाएको सन्देशमा ‘यो दोस्रो पटक हो’ उल्लेख गरेकी थिइन् । त्यसको जवाफमा नरेशले सम्बन्धविच्छेदका कागजातमा हस्ताक्षर गर्ने बताएका थिए । तर भट्टले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।
उनले आफू वैवाहिक सम्बन्धबाट खुसी नरहेको र सम्बन्धविच्छेद गर्न चाहेको पनि अदालतमा बताएका छन् । सम्बन्धविच्छेदको कुरा गर्दा ममता तनावमा पर्ने गरेको उनको दाबी छ ।
‘पत्नीप्रतिको प्रेम भनेको शव टुक्र्याउनु हो ?’
अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले भट्टमाथि कडा जिरह गरेका थिए । उनले भट्टले लामो समयसम्म प्रहरीलाई ममता कहाँ छिन् भन्ने थाहा नभएको भन्दै झुट बोलेको आरोप लगाए ।
जिरहका क्रममा स्वीटले प्रश्न गरेका थिए, ‘तपाईंले पत्नी र आफ्नी छोरीकी आमालाई देखाएको प्रेम भनेको उनको शरीर टुक्राटुक्रा पार्नु र फोहोरको डस्टबिनमा हाल्नु हो ?’
जवाफमा भट्टले आफूले गरेका काम स्वीकार गरेको बताएका थिए ।
यसअघि वकिल स्वीटले भट्टलाई झुटो बोल्ने व्यक्ति भनेपछि अदालतमा उपस्थित केही व्यक्तिले ताली बजाएका थिए । त्यसपछि न्यायाधीश किम्बर्ली इर्भिङले अदालतमा शान्ति कायम राख्न निर्देशन दिएकी थिइन् ।
नागरिकता आवेदनमा समेत झुट बोलेको आरोप
अभियोजन पक्षले भट्टको अमेरिकी नागरिकता आवेदनमा उल्लेख गरिएको जन्मस्थान र अदालतमा दिएको बयानबीच विरोधाभास रहेको विषयसमेत उठाएको थियो ।
नागरिकता आवेदनमा उनले आफ्नो जन्मस्थान नेपाल उल्लेख गरेको तर अदालतमा भने भारतको नयाँदिल्लीमा जन्मिएको बताएका थिए ।
यस विषयमा वकिल स्वीटले झुट बोलेको आरोप लगाउँदा भट्टले ‘यो झुट होइन, संस्कृति हो’ भन्दै जवाफ दिएका थिए । उनको जवाफले अदालतमा उपस्थित व्यक्तिहरू आश्चर्यमा परेका थिए ।
बिहीबार साँझ करिब ५ बजे अभियोजन पक्षको जिरह सकिएपछि न्यायाधीशले जुरी सदस्यहरूलाई बिदा गरेकी थिइन् ।
प्रतिरक्षा पक्षले सोमबार पुनः केही प्रश्न गर्ने र त्यसपछि आफ्नो पक्षको बहस तथा प्रमाण प्रस्तुत गर्ने जनाएको छ । ममताको शव अझै फेला नपरेको अवस्थामा यो मुद्दामा भट्टको बयान र अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्