Skip to content

निजी क्षेत्रमा ६० खर्ब ४१ अर्ब कर्जा प्रवाह, घरजग्गा धितोको हिस्सा ६२.७ प्रतिशत

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा निजी क्षेत्रमा खर्बौँ रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत (एक खर्ब ८४ अर्ब १९ करोड)ले वृद्धि भई ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये ६२.७ प्रतिशत हिस्सा अझै पनि घरजग्गा धितो सुरक्षणमै आधारित रहेको देखिएको छ । चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा प्रवाह भएको कर्जाको अंश भने १५.५ प्रतिशत रहेको छ ।

असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.१ प्रतिशत रहेको छ ।

यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशत र विकास बैंकहरूको ३.१ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको १.२ प्रतिशतले घटेको छ ।

क्षेत्रगत रूपमा हेर्दा तीन महिनामा खनिज क्षेत्रतर्फको कर्जा १७.८ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मतमा १२.४ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन क्षेत्रमा १०.७ प्रतिशतले कर्जा विस्तार भएको छ । त्यसैगरी सञ्चार तथा सार्वजनिक सेवामा ५.४ प्रतिशत, सेवा उद्योग र थोक तथा खुद्रा व्यापारमा ३.९ प्रतिशत, यातायात तथा निर्माणमा ३.८ प्रतिशत तथा औद्योगिक उत्पादन र उपभोग्य क्षेत्रमा समान २.३ प्रतिशतले कर्जा बढेको छ । कृषि क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले घटेको छ ।

कर्जाको प्रकारअनुसार विपन्न वर्ग कर्जा १५.१ प्रतिशत, माग तथा अन्य चालु पूँजी कर्जा ५.२ प्रतिशत, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० ३.५ प्रतिशत, ट्रष्ट रिसिट तथा मार्जिन कर्जा समान २.९ प्रतिशत र आवधिक कर्जा २.६ प्रतिशतले बढ्दा क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार