काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार दिन नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडिएको हो।
ब्याजदर न्यून रहे पनि अर्थतन्त्रमा देखिएको सुस्तता र माग बढ्न नसक्दा सेयर लगानीकर्ताको मनोबल कमजोर बनेको बजार विश्लेषकहरू बताउँछन्। आर्थिक गतिविधि अपेक्षित रूपमा चलायमान नहुँदा सेयर बजारले पनि सकारात्मक गति लिन नसकेको देखिएको छ।
गत साता वैकल्पिक राजनीतिक शक्तिहरू एक भएको र आगामी २१ फागुनमा निर्वाचन हुने संकेत देखिएपछि नेप्से केही दिन सुधारिएको थियो। तर उक्त सुधार दीर्घकालीन हुन नसकी आइतबार पुनः बजार नकारात्मक बनेको हो।
आइतबार कारोबार सुरु हुँदादेखि नै नेप्से ओरालो लागेर बन्द हुँदासम्म नकारात्मक रह्यो। यद्यपि, कुल कारोबार रकम हेर्दा बजारमा सेयरको माग भने कायम रहेको संकेत देखिन्छ।
आइतबार नेप्सेमा ३२३ कम्पनीका सेयर कारोबार भएका छन्। तीमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको, ७९ कम्पनीको मूल्य बढेको र ९ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
समूहगत सूचकतर्फ बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष, निर्जीवन बीमा तथा अन्य समूह नकारात्मक रहेका छन्।
यस दिन उत्पादनमूलक, होटल तथा व्यापार समूह भने बढेका छन्।
कारोबारतर्फ आइतबार नेप्सेमा ७९ हजार कारोबारबाट १ करोड २ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यो रकम गत साता बिहीबारको कारोबारभन्दा बढी हो, उक्त दिन नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्