Skip to content

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १२।९८ प्रतिशतले घटेको छ।

यस अवधिसम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको १७ अर्ब ४९ लाख २५ हजार रुपैयाँको तुलनामा १।७३ प्रतिशतले बढी हो। तर कुल आय भने १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १।५ प्रतिशतले कम हो।

दोस्रो त्रैमाससम्म ईबीआईटीडीए ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २।६० प्रतिशतले कम हो। कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ रहेको छ, जुन ४।५९ प्रतिशतले घटेको छ।

खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस अनुसार प्रति शेयर आम्दानी वार्षिकीकरण गर्दा ४६ रुपैयाँ २७ पैसा रहेको छ।

कम्पनीका अनुसार ओटीटी सेवाको व्यापक प्रयोगका कारण विदेशी आगमन कल घट्दा अन्तरआवद्धता आय करिब ६।१४ प्रतिशतले घटेको छ। यसले भ्वाइस र एसएमएस आम्दानीमा पनि असर पारेको छ।

त्यस्तै, ब्याजदर घट्नु र लगानी मूल्यमा परिवर्तन भएको कारण व्याज आय ३२ प्रतिशतले घटेको छ। विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधार गर्न उच्च लागत व्यहोर्नु परेको, र दररेट नीतिमा परिवर्तन हुँदा सेवा शुल्क कटौती हुँदा राजश्वमा अपेक्षित वृद्धि हुन नसकेको कम्पनीले जनाएको छ।

कर्मचारी बीमा र पेन्सन दायित्व बढ्दा कर्मचारी खर्च ११।५ प्रतिशतले वृद्धि भएको छ भने विदेशी विनिमय दर परिवर्तनका कारण विदेशी मुद्रा सटही नाफा १५० प्रतिशतले बढेको छ। लेखा नीतिअनुसार जिन्सी मौज्दातमा थप व्यवस्था गर्दा इम्पेयरमेन्ट खर्च १८ करोड ३५ लाख रुपैयाँले बढेको छ। चालु कर गत वर्षको तुलनामा ५५।५६ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार