Skip to content

आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी (आज) बुधवार राती १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

यद्यपि अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाध रुपमा सञ्चालन हुनेछन् । आयोगले आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सवारीसाधन सञ्चानलमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बुधवार राति १२ बजेदेखि बिहीवार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न नपाइने उहाँले बताउनु भयो ।

उहाँकाअनुसार आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । सूचना अधिकारी घिमिरेकाअनुसार अतिआवश्यक सेवाका सवारी एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ । साथै कुटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ । सम्पूर्ण मतदाता तथा यात्रुहरूलाई आफ्ना गन्तव्यमा पुग्नुपर्ने भए सवारीसाधन बन्द हुनुअगावै पुगिसक्न सूचना अधिकारी घिमिरेले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज राती १२ बजेबाट भोली मतदानको कार्य सम्पन्न नहुन्जेलसम्म अथवा भोलीको साँझ ५ बजेसम्म सवारी साधन आवागमनमा निषेध गर्नेगरि निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । सो बमोजिम अति आवश्यक सेवाका केही सवारीसाधनबाहेक अन्य सवारी साधनहरु चलाउन नपाइने अवस्था हुन्छ । त्यसैले सम्पूर्ण मतदाता महानुभावहरु, आफ्नो गन्तव्यमा पुग्नुपर्ने यात्रुहरु सबैले आज राती १२ बजेसम्म पुगिसक्नुपर्ने हुन्छ ।

आज राती १२ बजेसम्म मात्रै सवारी साधन चल्ने व्यहोरा म सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु । यो सवारी साधन निषेधको अवस्थामा तीन वटा प्रकारले सवारीसधान सञ्चालन गर्न पाइन्छ । एउटा, अतिआवश्यक सेवाका सवारीसाधनहरु एम्बुलेन्स, दमकल, शववाहनजस्ता अतिआवश्यक सेवाका सवारी सञ्चालन गर्न पाइन्छ । त्यसैगरी कुटनीतिक नियोगका निलो प्लेट भएका सवारी साधनहरु पनि सञ्चालन गर्न पाइन्छ । निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रसाशन कार्यालयहरुले निर्वाचन आयोगले स्वीकृत गरेको कार्यविधि बमोजिम पास उपलब्ध गराएका सवारीसाधहरु पनि यो अविधमा सञ्चालन गर्न पाइनेछ ।’

आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार