Skip to content

‘संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने व्यवस्था परिवर्तन गरिनुपर्छ’ : सांसद केसी

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने व्यवस्था परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा तत्काल जानकारी गराउन नाम नटिपाई बोल्न पाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आकस्मिक समयलाई पनि अगाडि गएर टिपाउनुपर्ने परम्परा सदनमा यसअघि स्थापित भएको छ, त्यो परिवर्तन हुनुपर्छ । आकस्मिक समय भनेको सांसदको विशेषाधिकार हो, प्रधानमन्त्री बोल्दाबोल्दै भए पनि हात उठाएर बोल्न पाउनुपर्छ ।’

यसैगरी उनले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यसको प्रभावकारी र रचनात्मक उपस्थितिले लोकतन्त्रलाई जीवन्त बनाउने बताए । उनले केही स्थापित संसदीय मान्यताहरू परिवर्तन गर्न आवश्यक रहेको पनि औंल्याए ।

उनले संसदले पक्ष–विपक्षभन्दा माथि उठेर सबै धारणा र मान्यतालाई समेट्दै निष्कर्षमा पुग्नुपर्ने आवश्यकता रहेको बताए । साथै, सभामुखले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
‘लोकतन्त्र वाद–प्रतिवाद र संवादको प्रक्रिया हो । फरक–फरक विचारबीच कहिलेकाहीँ तिक्तता उत्पन्न भए पनि त्यसैबाट निस्कने सार नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार