Skip to content

गोल्डस्टार चम्कियो, संस्थापकको नाम किन ओझेलमा ?

कालोपाटी

३२ मिनेट अगाडि

काठमाडौँ । नेपालको रैथाने जुत्ता ब्रान्ड गोल्डस्टार आज राष्ट्रिय गौरवको प्रतीक बनेको छ। प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले गर्वका साथ प्रयोग गर्ने यो ब्रान्डको सफलता सबैले देखेका छन्। तर यसको आधारशिला राख्ने व्यक्तिहरूको कथा भने बिस्तारै सार्वजनिक स्मृतिबाट हराउँदै गएको प्रश्न उठ्न थालेको छ।

सन् १९७० को दशकमा नूरप्रताप राणा र उनका पुत्र कुन्दनप्रताप जंगबहादुर राणाले हेटौँडाबाट चप्पल उत्पादन सुरु गरेका थिए। पछि कुन्दन राणाले आफ्नी पत्नी किरण राणाको नाममा ‘किरण म्यानुफ्याक्चर’ स्थापना गर्दै गोल्डस्टार ब्रान्डलाई आकार दिएका थिए। सानो उद्योगबाट सुरु भएको यो यात्रा आज अर्बौँको व्यापारिक साम्राज्यमा परिणत भइसकेको छ।

तर सफलता जति उचाइमा पुग्यो, संस्थापक पुस्ताको नाम त्यति नै ओझेल पर्दै गएको आरोप सुनिन थालेको छ। कम्पनीको वर्तमान नेतृत्व र सार्वजनिक छविमा नयाँ अनुहारहरू प्रमुख रूपमा देखिए पनि प्रारम्भिक संघर्ष, जोखिम र लगानीको इतिहास भने पर्याप्त रूपमा चर्चा नपाएको धेरैको बुझाइ छ।

द्वन्द्वकालमा गोल्डस्टार जुत्ता माओवादी आन्दोलनसँग जोडिएर हेर्ने प्रवृत्ति बढ्दा कम्पनीले ठूलो चुनौती सामना गरेको थियो। सुरक्षा संवेदनशीलता, बजारको दबाब र ब्रान्डमाथिको राजनीतिक छायाँका बीच व्यवसाय टिकाइराख्नु सहज थिएन। त्यस्तो कठिन समय पार गरेर ब्रान्डलाई जोगाउने भूमिकामा रहेका पुराना पात्रहरूको योगदान आज कति सम्झिइएको छ भन्ने प्रश्न पनि उठिरहेको छ।

अर्कोतर्फ, कम्पनीको कानुनी र ऐतिहासिक यात्रामा महत्वपूर्ण नाम मानिने किरण राणाको उपस्थिति समेत सार्वजनिक विमर्शमा कम हुँदै गएको देखिन्छ। कम्पनीको नाम, दस्तावेज र प्रारम्भिक इतिहाससँग जोडिएको योगदान वर्तमान कथनमा किन कम सुनिन्छ भन्ने जिज्ञासा पनि स्वाभाविक रूपमा उब्जिएको छ।

यो बहस केवल एउटा कम्पनी वा परिवारको विषय मात्र होइन। व्यवसाय सफल भइसकेपछि इतिहास कसले लेख्छरु जोखिम उठाउने र आधार निर्माण गर्नेहरू कि नेतृत्वको वर्तमान अनुहारहरूरु गोल्डस्टारको कथाले यही प्रश्न फेरि उठाएको छ।

आज गोल्डस्टार विश्व बजारसम्म फैलिएको नेपाली ब्रान्ड हो। तर यसको सुनौलो यात्राको इतिहास लेखिँदा सफलताको अन्तिम अध्याय मात्र होइन, पहिलो इँटा राख्ने हातहरूको कथा पनि समान सम्मानका साथ स्मरण हुनुपर्ने आवाज बलियो बन्दै गएको छ।

“साम्राज्यको शिखर सबैले देख्छन्, तर जगमुनि गाडिएका त्याग र संघर्षका ढुङ्गाहरूलाई इतिहासले कहिलेसम्म बिर्सिरहने ?”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार