काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत मोन्टेरेमा भएको रोमाञ्चक खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट टुंगिएको थियो।
मोरक्कोका गोलकिपर यासिन बोनुले नेदरल्यान्ड्सका क्रिसेन्सियो समरभिलको चौथो पेनाल्टी रोकेपछि मोरक्को बलियो अवस्थामा पुगेको थियो। त्यसपछि स्ट्राइकर इस्माइल साइबारीले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए।
यस जितसँगै मोरक्कोले शनिबार ह्युस्टनमा हुने अन्तिम १६ को खेलमा क्यानडासँग भेट पक्का गरेको छ।
खेलको दोस्रो हाफको मध्यतिर कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। आफ्नी जीवनसाथीले केही दिनअघि गर्भमा रहेको सन्तानको निधन भएको पुष्टि गरेपछि भावुक अवस्थामा मैदान उत्रिएका गाक्पोले गोल गरेपछि टोलीका खेलाडीसँग लामो समयसम्म अंकमाल गरेका थिए।
नेदरल्यान्ड्स जित नजिक पुगेको जस्तो देखिए पनि इन्ज्युरी समयको पहिलो मिनेटमा इसा डियोपले हेडमार्फत बराबरी गोल फर्काउँदै मोरक्कोलाई खेलमा जिवित राखे। उनले वैकल्पिक खेलाडी शेम्सदिने ताल्बीको क्रसलाई जाली चुमाएका थिए।
खेलभर मोरक्कोले बढी अवसर सिर्जना गरेको थियो। २०औँ मिनेटमा निल अल–आइनाउईले अशरफ हाकिमीको कर्नरमा हेड प्रहार गर्दा नेदरल्यान्ड्सका गोलकिपर बार्ट फेरब्रुगेनले उत्कृष्ट बचाउ गरेका थिए। केहीबेरपछि फेरि हाकिमीको शक्तिशाली प्रहारलाई पनि उनले बारमाथि धकेलेका थिए।
खेल निकै प्रतिस्पर्धात्मक रह्यो। पहिलो हाफमा साइबारीले यान पाउल भान हेकेको अनुहारमा कुहिनो प्रहार गरे पनि कार्ड पाउनबाट जोगिएका थिए।
नेदरल्यान्ड्सले बलमा नियन्त्रण राखे पनि स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गरिरहेको थियो। ४४औँ मिनेटमा मिकी भान डे भेनको शक्तिशाली प्रहारलाई बोनुले उत्कृष्ट रूपमा बचाएका थिए।
दोस्रो हाफमा नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले धेरै परिवर्तन गर्दै वाउट वेघोर्स्टलाई मैदानमा उतारेपछि टोलीको आक्रमण धारिलो बनेको थियो। वेघोर्स्टले लामो पासलाई नियन्त्रण गर्दै समरभिललाई अवसर सिर्जना गरिदिए, जसको क्रसमा गाक्पोले गोल गरेका थिए।
भर्जिल भान डाइकको नेतृत्वमा नेदरल्यान्ड्सको रक्षापंक्ति मजबुत देखिए पनि डियोपको अन्तिम समयमा आएको हेडरले खेललाई अतिरिक्त समयमा धकेल्यो।
अतिरिक्त समयको ९६औँ मिनेटमा सुफियान रहिमीले मोरक्कोलाई अग्रता दिलाउने सुनौलो अवसर पाए पनि फेरब्रुगेनले अविश्वसनीय बचाउ गर्दै नेदरल्यान्ड्सलाई जोगाएका थिए।
पेनाल्टी सुटआउटमा मोरक्कोको पहिलो प्रहार अल–आइनाउईले बारमा हानेर गुमाए पनि त्यसपछि टोलीले पुनरागमन गर्दै ऐतिहासिक जित निकाल्न सफल भयो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्