Skip to content

अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोलिएको थियो ।

जाँचका क्रममा म्यानिफेस्टमा उल्लेख नभएका ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना फेला परेका हुन् ।

बरामद गरिएका सामग्रीमा २२ थान ठूला र ४४ थान साना नौगेडी, १४ थान २१ गेडी नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८/१८ थान सिङ्गल र डबल ब्रोच, ५ थान ठूला र २ थान साना शिरफूल, १६ थान नेपालको झण्डा अंकित ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार तथा १ थान त्रिशूल रहेका छन् ।

प्रहरीका अनुसार उक्त सामग्री बौद्धस्थित युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिक प्रालिको माध्यमबाट काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका गरगहना तथा पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार