Skip to content

कांग्रेसद्वारा १० लाख रुपैयाँको ‘मानव सहायता कल्याण कोष’ स्थापना, सुरुमा सुकुमवासीलाई सहयोग गर्ने

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ । बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको जानकारी दिएका हुन् ।

उनका अनुसार कोषयमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको छ । उक्त रकम हाल विस्थापित भएका सुकुमवासी परिवार, विशेषगरी एकल महिला र स्कुल जानबाट बन्चित बालबालिकामा खर्च गरिने उनले बताए ।

‘पार्टीका साथीहरूले सदस्यता शुल्कका रूपमा पार्टीको कोषमा जम्मा गर्नुभएको रकमबाट आजदेखि हामीले मानव सहायता कल्याण कोष स्थापना गर्ने निर्णय गरेका छौं,’ थापाले कार्यक्रममा भने ।

कोषको रकम परिचालनका लागि नेपाल महिला संघका स्वयंसेवक खटाइने पनि उनले बताए । महिला संघका प्रतिनिधिहरू प्रभावित बस्तीमा पुगेर आवश्यकताको पहिचान गर्ने र सहयोग वितरणमा संलग्न हुने उनले जानकारी दिए । साथै, तरुण दल लगायत इच्छुक अन्य स्वयंसेवकलाई पनि अभियानमा जोडिन उनले आह्वान गरे ।

थापाले ‘ग्रिन रन’ कार्यक्रम जलवायु परिवर्तनबारे जनचेतना फैलाउन मात्र नभई सामाजिक उत्तरदायित्वको ठोस सुरुआत गर्ने उद्देश्यले आयोजना गरिएको बताए । जलवायु परिवर्तनलाई नेपालको विकासको प्रमुख एजेन्डा बनाउन कांग्रेसले नीति र कार्यक्रममार्फत अघि बढाउने उनले बताए ।

उनले बीपी कोइरालाले आफ्नो समयमै समावेशी लोकतन्त्र र प्राकृतिक स्रोतमा न्यायपूर्ण पहुँचको अवधारणा अघि सारेको स्मरण गर्दै ती विचारबाट अहिले पनि सिक्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

कार्यक्रममा सहभागीको संख्या अपेक्षाभन्दा बढी हुँदा व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गर्दै थापाले सहभागी युवासँग क्षमायाचना पनि गरे। आगामी कार्यक्रमलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

यसैबीच, थापाले बिहीबारदेखि कांग्रेसले नयाँ देशव्यापी अभियान सुरु गर्ने जानकारी दिँदै त्यसबारे विस्तृत विवरण भोलि सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार