काठमाडौं । अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डाका स्वास्थ्य निकायले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुवै देशमा गरी इबोलाबाट मृत्यु हुनेको संख्या १ हजार १ पुगेको हो ।
कंगोको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको अवस्थिति प्रतिवेदनअनुसार सोमबारसम्म देशमा २ हजार ४७३ जनामा इबोला संक्रमण पुष्टि भएको छ । तीमध्ये ९९९ जनाको मृत्यु भएको छ ।
युगान्डामा हालसम्म २० जनामा संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यससँगै दुवै देशमा मृत्यु हुनेको कुल संख्या १ हजार १ पुगेको छ । बुन्डिबुग्यो भाइरसबाट फैलिएको यो प्रकोप मे १५ मा डीआरसीको पूर्वी इटुरी प्रान्तबाट सुरु भएको थियो । त्यसपछि यो उत्तर किभु, दक्षिण किभु, हाउट-उएले र छोपो प्रान्तसम्म फैलिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मे १७ मा डीआरसी र युगान्डामा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेको थियो ।
डीआरसीको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म ७३७ संक्रमित अस्पताल वा आइसोलेसनमा उपचाररत छन् भने ४८२ जना संक्रमणमुक्त भएर निको भएका छन् । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले जुलाई १६ मा जेनेभामा आयोजित पत्रकार सम्मेलनमा यो प्रकोप हालसम्मकै तेस्रो ठूलो इबोला प्रकोप बनेको र पछिल्लो एक महिनामा यसको फैलावट अघिल्ला सबै प्रकोपको तुलनामा तीव्र रहेको बताएका थिए ।
हालको प्रकोप सन् १९७६ मा पहिलो पटक इबोला भाइरस पहिचान भएयता डीआरसीमा देखिएको १७औँ इबोला प्रकोप हो । यता, युगान्डामा अन्तिम पुष्टि भएका इबोला संक्रमित बिरामी जुलाई १६ मा अस्पतालबाट डिस्चार्ज भएसँगै त्यहाँ प्रकोप अन्त्य घोषणा गर्न आवश्यक ४२ दिने निगरानी अवधि सुरु भएको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओका अनुसार अन्तिम संक्रमित व्यक्ति निको भएर डिस्चार्ज भएको वा मृत्यु भई संक्रमण सर्ने अवस्था समाप्त भएको मितिबाट लगातार ४२ दिनसम्म कुनै नयाँ संक्रमण पुष्टि नभए सम्बन्धित देशले इबोला प्रकोप समाप्त भएको घोषणा गर्न सक्छ । सीसीटीभी प्लस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्