Skip to content

आज र भोलि मुसलधारे वर्षाको सम्भावना : ३७ जिल्लामा बाढीको जोखिम

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेको र पानी पर्ने क्रम पनि बढेसँगै आज काठमाण्डौ उपत्यकासहित ३७ जिल्लामा बाढीको जोखिम छ । आज काठमाण्डौ, भक्तपुर, ललितपुरसहित आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङमा बाढीको जोखिम छ ।

त्यस्तै संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले खोलारनदी तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरेको छ । आज दिउँसो देशका पहाडी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षा तथा तराईका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज राति र भोलि पनि पहाडी र तराई भागका थोरै ठाउँमा ठूलो तथा एकरदुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ । मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार मनसुन पूर्ण सक्रिय रहेको र भोलि सोमबारसम्म देशैभर वर्षाको सम्भावना छ । आज र भोलि अत्यावश्यकबाहेक पहाडी सडक खण्डमा यात्रा नगर्न उहाँको सल्लाह छ ।

विशेष गरी वीपी राजमार्गको धुलिखेल–रोशी–मुलकोट खण्ड र पृथ्वी राजमार्गको नौबिसे, मलेखु–मुग्लिन–जुगेडी खण्डमा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न उहाँको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार