Skip to content

२९ गते नै दल दर्ता गर्ने तयारीमा धवल समूह, दुर्गा प्रसाईंलाई नपर्खिने

कालोपाटी

२८ मिनेट अगाडि

काठमाडौं । राप्रपाबाट निस्किएको डा. धवलशम्शर राणाको समूहले साउन २९ गते नयाँ दल दर्ता गर्ने भएको छ । ‘जय नेपाल पार्टी’ नाममा निर्वाचन आयोगमा विधिवत दर्ता गर्न लागिएको हो ।

धवलशम्शेरको समूह र राजावादी व्यवसायी दुर्गा प्रसाईंको समूहबीच एकता घोषणा भएको थियो । तर, पार्टी दर्तासमेत नहुँदै उक्त एकता भंग हुने संघारमा पुगेको छ । प्रसाईंले हिजो एक युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै धवलशम्शेरमाथि विभिन्न लान्छना लगाएका थिए । यसले गर्दा अब सहकार्यको सम्भावना लगभग अन्त्य भएको धवल समूहको भनाइ छ ।

धवल पक्षका नेता मुकुन्दश्याम गिरीले २९ गते पार्टी दर्ता गर्ने तयारी भइरहेको नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘उहाँहरु (दुर्गा पक्ष) आउनुहुन्छ भन्ने नै छ, आउनुभएन भने पनि हामी अब रोकिँदैनौँ ।’

यसअघि राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता बन्ने गरी पार्टी गठनको घोषणा भएको थियो । तर, वरीयतामा को अगाडि रहने भन्नेमा विवाद उब्जिएको छ । अध्यक्ष निसन्देह पहिलो वरीयतामा हुनुपर्ने धवलपक्षको भनाइ छ भने प्रसाईंले ‘सर्वोच्च नेता’ भन्दा माथि अरु कोही हुन नसक्ने तर्क गरेका छन् ।

‘सर्वोच्च नेता’ को काम, कर्तव्य र अधिकारलाई स्पष्ट रुपमा परिभाषित गर्नुपर्ने प्रसाईं पक्षको माग छ । उनीहरुले सर्वोच्च नेता कार्यकारी अधिकारयुक्त हुनुपर्ने र अध्यक्षसँग अधिकार बाँडफाँट गर्नुपर्ने अडान लिइरहेका छन् । चुनावमा टिकट वितरण गर्दा दुर्गा प्रसाईंले हस्ताक्षर गर्नुपर्ने माग राखिएको छ । धवल पक्ष यसमा सहमत छैन ।

हिजो दुवै पक्षको कार्यदलको वैठक बसे पनि सहमति जुट्न सकेन । यद्यपी सहमतिको सम्भावना समाप्त नभइसकेको दुवै पक्षले बताएका छन् ।

धवल पक्षका गिरी भन्छन् (‘सकेसम्म मिलेरै जाने पक्षमा छौं । उहाँ (दुर्गा प्रसाईं) ले दिएका अभिव्यक्तिहरु उहाँका निजी धारणा हुन् । त्यसैका कारण सहकार्य तोडिन्छ जस्तो लाग्दैन ।’

दुर्गा प्रसाईँ पक्षका नेता माधव कल्पित आफूहरु मिलेरै जाने पक्षमा रहेको बताउँछन् । अहिले पनि संवाद भइरहेको र २९ गते सँगै दर्ता गर्न जाने सम्भावना कायम रहेको उनको दाबी छ ।

कल्पितले भने, ‘सहकार्य टुटिसक्यौ भन्ने होइन । म त जसरी पनि मिल्नुपर्छ भन्नेमा नै छु ।’

दुर्गा प्रसाईंले धवलशम्शेरविरुद्ध दिएका अभिव्यक्तिले एकतामा आँच नआउने उनको भनाइ छ ।

‘बिहानदेनि बेलुकासम्म बोलिरहने मान्छेले कहिलेकाहीँ सही कुरा बोल्छन्, कहिले गलत बोल्छन् । त्यसलाई धेरै गम्भीररुपमा लिइरहनु पर्छ जस्तो लाग्दैन,’ उनले थपे ।

प्रस्तावित अध्यक्ष राणाकी प्रेस संयोजक राधिका जोशी भने सहकार्यको सम्भावना क्षिण भइसकेको बताउँछिन् ।

उनले भनिन्, ‘दुर्गा प्रसाईंजीले अन्तर्वार्तामा जेजस्ता कुराहरु बोल्नुभएको छ, त्यसले सहकार्यको वातावरण बिग्रिएको छ । हामी आफ्नो तरिकाले २९ गते पार्टी दर्ताको तयारीमा छौं । उहाँहरूको पक्षबाट आउनुहुनेलाई समेट्छौं, तर संस्थागत सहकार्यको अवस्था अब रहेन ।’

दुई पक्षबीच १०१ जनाको केन्द्रीय समित बनाउने समझदारी भएको थियो । त्यसमा धवल समूहबाट ४० जना, प्रसाईं समूहबाट ४० जना र बाँकी २० जना अन्य समूहबाट आउनेलाई स्थान दिने भनिएको छ । पार्टी दर्ताका लागि २९ गते साढे १२ बजे निर्वाचन आयोगमा समय लिइएको जोशीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार