Skip to content

शुक्रबार बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

कालोपाटी

१९ मिनेट अगाडि

काठमाडौं । पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भोलि भाद्र २९ गते बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो । सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सबस्टेशनको ६६ केभी बसबारमा आवश्यक मर्मतसम्भार तथा प्राविधिक काम सम्पन्न गर्न सटडाउन लिन लागिएको हो । मर्मतसम्भारको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिने प्राधिकरणले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुने अवधिमा सम्बन्धित क्षेत्रका ग्राहकलाई आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ । मर्मतसम्भार कार्य विद्युत् प्रणालीलाई सुरक्षित तथा भरपर्दो बनाउन आवश्यक भएकाले छोटो समयका लागि विद्युत् आपूर्ति बन्द गर्नुपरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै मर्मतसम्भारपछि सेवा नियमित र भरपर्दो रूपमा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार