काठमाण्डौ । केवाइसी अपडेट अर्थात् व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।
यस्तो ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वित्तीय संस्था, डिजिटल वालेट जस्तैः इसेवा वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समयसमयमा विवरण अपडेट गर्नुपर्ने हुन्छ ।
तर गलत कार्य गरेको आरोपमा बाराको देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा पक्राउ परेका छन् ।
साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो ।पक्राउ परेकाहरूले ‘बैंकबाट बोलेको हुँ, केवाइसी अपडेट गर्नुपर्यो’ भन्दै पछिल्लो समयमा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएपमार्फत ‘स्क्रिन सेयर’ गर्न लगाई ओटिपी कोड प्राप्त गरी खातामा पहुँच पुर्याएर खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न रहेको सीआईबीले जनाएको छ ।
साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कल गर्ने गरेका थिए ।
उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटिपी, पासवर्ड, पिन तथा अन्य संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्