Skip to content

अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षा पश्चात देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण २१ जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार वर्षाजन्य विपद्मा परी ५ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् । यस प्राकृतिक विपत्तिबाट ७४७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

प्राधिकरणले विपद् प्रतिकार्यका लागि सबै सरकारी संयन्त्रहरू परिचालित गरिएको जनाएको छ । बाढी तथा पहिरोको उच्च जोखिममा परेका प्रभावित जिल्लाहरूबाट करिब २ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उद्धार गरिएका नागरिकका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आवश्यक राहत तथा बन्दोबस्तीको व्यवस्था मिलाइएको छ ।

जाजरकोट, म्याग्दी र बागलुङलगायतका जिल्लामा नेपाली सेना तथा सुरक्षा निकायको हेलिकोप्टर परिचालन गरी बाढी–पहिरोमा फसेका व्यक्तिहरूको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले दैनिक तीन पटक अद्यावधिक सूचना र सतर्कता सन्देश जारी गरेको थियो । प्राधिकरणको सिचुएसन रूमबाट असोज ८ गते बिहान ९ देखि ११ गते दिउँसो १ बजेसम्म निरन्तर ७६ घण्टा मौसम अनुगमन, समन्वय तथा सूचना सम्प्रेषण गरिएको थियो ।

यस अवधिमा अग्रपंक्तिमा खटिने उद्धारकर्मीहरूलाई ५ हजारभन्दा बढी र जल तथा मौसम विज्ञान विभागमार्फत जोखिम क्षेत्रका बासिन्दालाई ८ लाख १४ हजार सतर्कता सम्बन्धी एसएमएस पठाइएको जनाइएको छ । साथै, देशका विभिन्न भागमा रहेका करिब ९ हजार विदेशी पर्यटक तथा पदयात्रीहरूको सुरक्षालाई ध्यानमा राखी अङ्ग्रेजी भाषामा समेत सतर्कता सूचना जारी गरिएको थियो । जोखिमयुक्त सडकखण्डहरूमा सवारी आवागमन रोक्न निर्देशन दिनुका साथै प्रभावित जिल्लाहरूमा विद्यालय बिदा दिइएको थियो ।

विगत ४ दिनको अवधिमा देशभरका १८६ वटा वर्षा मापन केन्द्रहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ । जसमध्ये सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डेडगाउँमा ५४४.२ मि.मि. वर्षा मापन गरिएको छ । त्यसैगरी कास्कीको पञ्चासेमा ५००.२ मि.मि. र तनहुँको अत्रौलीटारमा ४७२ मि.मि. वर्षा रेकर्ड भएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार