Skip to content

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका–३ सोखेलका ४० वर्षीय समुन्द्रकेशर केसी र काभ्रे धुलिखेल नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ छन् । उनीहरूमध्ये केसीलाई अदालतबाट बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र रु ३० लाख जरिवाना तथा श्रेष्ठलाई छ दिन कैद र रु १० लाख जरिवाना ठहर भएको थियो ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्याएर सनराइज बैंक र मेगा बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्