काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्याउने अभियानमा रहेको बताएकी छन् । झिमरुक गाउँपालिकामा बुधबारदेखि सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पुर्याउने नीतिअनुसार काम भइरहेको जनाएका छन् । उनले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशनसमेत दिएकी छन् । मन्त्री शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने उनको भनाइ छ । शर्माले भनिन्, ‘इन्टरनेट सेवा पालिका हुँदै वडासम्म पुर्याउन सके जनताले सहज इन्टरनेट सेवा पाउने र टेलिकमको आम्दानी बृद्धि हुनेछ । यसलाई सबै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ ।’
मन्त्री शर्माले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् । नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उनको तर्क छ । सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तह रहेको प्युठानका चार स्थानीय तहमा प्यूठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवि गाउँपालिकामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुगेकोमा आजदेखि झिमरुक गाउँपालिकासमेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताएका छन् ।
उनका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहका लागि सर्बे भइसकेको र गौमुखीमा सर्बेको तयारी गरिएको छ । हाल नेपाल टेलिकमले यहाँ ४ हजार ६ सय ८ जनालाई सेवा दिन पुग्ने फाईबर नेट उपलब्ध गराएको छ । त्यसमध्ये १ हजार ६ सय १८ जनालाई सेवा प्रवाह गरिएको छ । प्यूठानमा ३७ वटा फोरजी टावर सञ्चालनमा रहेको नेपाल टेलिकमले जनाएको छ । सो अवसरमा नेपाल टेलिकम लुम्बिनी प्रदेशका प्रादेशिक निर्देशक अनन्तप्रसाद मल्लिक, भैरहवाका उप-प्रबन्धक कुश्माकर न्यौपाने, नेपाल टेलिकम बिजुवारका कार्यालय प्रमुख निरन्जन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।