मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै पाँच निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र गराइएको हो ।

अन्य मुद्दामाथिसमेत दुई पक्षलाई बोलाएर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार माघ ११ गतेदेखि गृह मन्त्रालयको निर्देशनअनुसार अनुचित लेनदेनका निवेदन प्रहरीले हेर्न थालेको हो । सो क्रममा रु १६ लाख बराबरका निवेदनमा मिलापत्र भएको उनी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयमा ८६ निवेदनमध्ये २३ निवेदन कार्यालयले प्रहरीमा नआउँदै मिलापत्र गरेको थियो । भण्डारीका अनुसार अहिले प्रहरीले अनुचित लेनदेनका निवेदन नियमित लिने गरेको छ । निवेदनमाथि छलफल गराउँदा अनुचित ठहरिए सोहीअनुसार अघि बढ्ने र छलफलका क्रममा मिलापत्र भए मिलापत्र गर्ने गरेको उनको भनाइ छ ।

त्यसैगरी प्रहरीमा निवेदन आएसँगै अहिलेसम्म कुनै पनि मुद्दा अदालतमा नगएको उनले जानकारी दिएका छन् । उनले भने, ‘हामी छलफलबाट समस्या समाधानका लागि लाग्छौँ, नमिलेको खण्डमा मात्रै मुद्दा दर्ता प्रक्रियामा अघि बढाउँछौँ ।’ बाँकी रहेका निवेदनमा समेत वादी र प्रतिवादी बोलाएर छलफल गराउने क्रम जारी रहेको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्